इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दिप पौडेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रहरी जवान पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीसँग ठोक्किदा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
दुर्घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् ।
उहाँको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











