इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको कोशी पाथिभरा हस्पिटल एण्ड डाइग्नोष्टिक प्रा.लिले आफनै कर्मचारीहरुको तलब नदिएपछि कर्मचारीहरु समस्यामा परेका छन् ।
दशैंको मुखमा अस्पतालले ९ महिनाको तलब नदिएपछि आफुहरुको बिजोग भएको गुनासो स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
अस्पतालमा कार्यरत फार्मेशी शिवहरि चौधरी, ल्याव असिस्टेण्ट निशा राई, रोशनी परियार र सहयोगी कृष्ण कुमारी भण्डारी सहितकाले ९ महिनादेखी तलब नपाएको गुनासो गरेका छन् ।
श्रम गरेर पारिश्रमिक नपाएको कारण आफुहरुको दशैं खल्लो हुने भएको गुनासो गर्दै पहलका लागि प्रहरी, प्रशासन र श्रम कार्यालय सम्म उजुरी गरेको बताइएको छ ।
आफुहरुले इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी र श्रम कार्यालय बिराटनगरमा उजुरी गर्दा समेत कार्यान्वयन नभएको र दशैं पछि मात्रै सुनवाई हुने प्रतिक्रिया दिएपछि आफुहरु निराश बनेको ल्याब असिस्टेण्ट रोशनी परियारले गुनासो गरेकी छिन् ।
अस्पतालमा सञ्चालक सहित तीन डाक्टर र चार जना कर्मचारी गरी सात जना कर्मचारी कार्यरत रहेकोमा चार जनाको तलब नदिएको पीडितहरुले बताएका छन् । सञ्चालक सुनिल शर्मा आचार्यलाई सम्र्पक गर्न खोज्दा फोन उठाएनन् ।