इनरुवा । सुनसरीको तीन सय ६१ विद्यालयमा पुस्तक कुना कार्यक्रम अन्र्तगत पुस्तकको पहुँच बिस्तार गरिएको छ । कक्षा एकदेखि तीनसम्मका बालबालिकाहरुको ज्ञानमा अभिवृद्धि र सुधारका लागि विद्यालयहरुमा पुस्तकको पहुँच बिस्तार गरिएको हो ।
सुनसरीको सेभ द अर्थ नामक संस्थाले वल्र्ड भिजनको सहकार्यमा सञ्चालन गरेको किताब परियोजना कार्यक्रमअन्तर्गत पुस्तक पहुँच बिस्तार गरेको हो ।
विद्यालयमा परियोजनामा सहभागी भएका विद्यालयलाई किताब बजार प्लेटफर्मसम्बन्धी अभिमुखीकरण गरेर पुस्तक पहुँच बिस्तार गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।
विद्यालयहरुमा पुस्तक कुना कार्यक्रम सञ्चालन गरेकोमा बालबालिकाहरुलाई बस्न र पढ्नका लागि आरामदायी बस्ने ठाउँसमेत बनाएको र केही ठाउँमा बन्ने क्रम जारी रहेको बताइएको छ ।
पुस्तक कुनाले विद्यालयहरुमा बालबालिकाहरुको लागि उपयुक्त र रोचक किताबहरु तथा शिक्षकहरुको लागि स्रोतहरु सुनिश्चित गरिएको छ ।
बालबालिकाहरुलाई राम्ररी प्रदर्शित पुस्तकहरुमध्ये कुन पढ्नका लागि चयन गर्ने हो, त्यो पूर्णरुपमा स्वतन्त्रता दिएको छ । परियोजनामा कार्यरत महेश चौधरीका अनुसार किताब परियोजनाअन्तर्गत पुस्तक कुनाको फाइदा बालबालिकाहरुलाई पुग्ने भएको छ ।
बालबालिकाले पुस्तक कुनाबाट अध्ययन गर्ने बानीको विकास गर्ने र बौद्धिक विकासमा सहयोग गरेको बताएका छन् । पुस्तकहरुले बालबालिकाहरुलाई आफ्नो वरिपरिको संसारको ज्ञान दिएको छ भने पढाइमा विधार्थीको शब्द भण्डारको विकास गरेको परियोजनाका अर्का सुपरभाइजर देवी चौधरीले बताएका छन् ।
चौधरीका अनुसार जिल्लाको बराहक्षेत्र नगरपालिकाका ३१ वटा विद्यालय, रामधुनी नगरपालिकाका २३, इनरुवा नगरपालिकाका २४, भोक्राहा नरसिंह गाउँपालिकाका १० र कोसी गाउँपालिकाका १२ विद्यालयसहित जिल्लाभरिका तीन सय ६१ विद्यालयमा समूह ए र बी गरेर पुस्तक कर्नर अर्थात् किताबकुना कार्यक्रम सञ्चालन भएको छ ।