इनरुवा । सुनसरीको वर्जु गाउँपालिका–२ रामगञ्ज बेलगछियामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । वर्जु गाउँपालिका, वडा कार्यालय र स्थानीयको श्रमदानमा निर्माण भएको सितागञ्ज स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
स्वास्थ्य चौकी भवनको उद्घाटन सोमवार १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षि दलका नेता राजीव कोईरालाले उद्घाटन गरेका हुन् । आठ कोठे भवन बनेपछि स्वास्थ्य चौकीमा बिरामीको उपचारमा सहज हुने भएको छ । यसअघि भवन अभावकै कारण ल्याब सेवा सञ्चालन गर्न नसकेको स्वास्थ्य चौकीले भवन बने लगत्तै ल्याब सेवा समेत सञ्चालनमा ल्याएको स्वास्थ्य चौकीले जनाएको छ ।
कुल एक करोड ९६ लाख रुपैयाँ लागतमा निर्माण भएको प्रसुति गृह सहितको भवनमा ल्याव, एक्सरे , ओपिडि, धारापानी, सरसफाईको पनि व्यवस्था रहेको छ ।
भवन उद्घाटन कार्यक्रममा बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, वर्जु–२ का वडा अध्यक्ष आनन्द प्रसाद यादव, नेता केदार कार्की, अगमलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, स्वास्थ्य शाखाका रामबाकु श्रेष्ठ, इन्द्र नारायण यादव सहितको उपस्थिती रहेको थियो ।