हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताललाई दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिदिने भएको छ।
अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजनको अभावमा उपचार गर्न समस्या भएपछि उपमहानगरले दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्था गर्ने अभियान नै सञ्चालन गरेको हो। उपमहानगरको उपमेयर मीना लामाले उपमहानगरले बैठकबाट निर्णय नै गर्दै अस्पताललाई अक्सिजन संकलन र व्यवस्थापनको लागि सहयोग गर्न लागेको बताइन्।
मकवानपुरमा कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहँदा अक्सिजन अभाव भएपछि उपमहानगरपालिकाले अस्पताललाई संक्रमितको उपचारमा सघाउ पुर्याउन अक्सिजन संकलन कार्य शुरु गरेको उनको भनाइ छ।
सोही कार्यअन्तर्गत आइतबार हेटौंडा उपमहानगरपालिकाले अस्पताललाई १०० २ वटा सिलिण्डर सहयोग गरिसकेको छ। उपमहानगरले आफ्नै खर्च र व्यवस्थापनमा दैनिक १०० सिलिण्डर अक्सिजन अस्पताललाई सहयोग गर्न लागेको हो।
उपमेयर लामाले देशको जुनसुकै कुनामा पुगेर भए पनि उपमहानगरले दैनिक १०० सिलिण्डर अक्सिजनको जोहो गर्ने अठोट गरेको छ। आफू जनताले जिताएर आएको प्रतिनिधि भएकोले जनताको जीवन जोखिममा हुँदा हरसम्भव प्रयास गर्नुपर्ने लामाको भनाइ छ।