सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन् ।
‘नेपाली भूभाग, साँध सिमाना रक्षा गर्ने देखि नागरिकता दुरुपयोगमा रोक लगाउने सम्मका राष्ट्रिय स्वार्थ जगेर्नामा सीमावर्ती क्षेत्रका जनताको ठूलो योगदान छ । राष्ट्रिय स्वार्थका लागि तिनको रगत पसिना बगेको छ,’ राप्रपाका नेता सुब्बाले भने ।
नेपालीले नागरिकता नपाउने, सीमा पारका मानिसले श्रेष्ता मिलाएर नागरिकता लिने क्रम जारी रहेको भन्दै पूर्वमन्त्री सुब्बाले चिन्ता व्यक्त गरे । सरकारले यस किसीमको दुरुपयोग तत्काल नियन्त्रण गर्नु पर्नेमा उनको जोड थियो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित राप्रपाको हरिनगरा गाउँपालिकास्तरीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सुब्बाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान हुँदैन,’ उनले भने । ‘जनताले विकल्प खोजेका छन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार भएर, सुझबुझ पूर्ण रुपमा जनतामाझ जाने हो भने, राप्रपा त्यो विकल्प हुन सक्दछ ।