इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेकी एक महिला कर्मचारीलाई संरक्षण गरेको पाइएको छ ।
इनरुवा नगरपालिका वडा नं–१० का सुचक अशोक रामले भरेको अनुसुची फारम २ को सुचना फारम बमोजिम दसन चमारको नाती अशोक चमार तथा सुनितादेवी रामको छोरा कृष्णकुमार रामको २०६२ कार्तिक १२ गतेको जन्म भएको प्रमाणित सक्कल जन्मदर्ताको कार्यालयमा रहेको अभिलेख सच्चाएर किर्ते गर्ने कार्यमा संलग्न रहेकी एक महिला कर्मचारीलाई संरक्षण गरेको पाइएको हो ।
इनरुवा नगरपालिकाको वडा नं–१० वडा कार्यालयमा कार्यरत कर्मचारी विनिता ठाकुरलाई कारबाही गर्न वडाध्यक्ष मोहम्मद खलिल अख्तरले नगर प्रमुख केदार भण्डारीलाई पत्र पठाएको पाइएको छ ।
कारबाही गर्न पत्र पठाइएको भएपनि ठाकुरलाई कारबाही गर्नुको सट्टा नगरपालिकाले उनको करार अवधि थप गरिदिएको छ । कर्मचारी ठाकुरले २०६२ कात्तिक १२ गते जन्मिएका कृष्णकुमार रामको जन्म मिति २०५८ वैशाख २० गते कायम गरी पुरानो जन्मदर्ता जारी गर्दाका बखत कायम रहेका तत्कालीन जल्पापुर गाविसका सचिव दीपकबाबु सुवेदीको हस्ताक्षरसमेत किर्ते गरेर नयाँ जन्मदर्ता जारी गरिदिएको पुष्टि भएको छ । पुरानो र नयाँ दुवै जन्मदर्ताको प्रति भिडान गर्दा किर्ते गरिएको खुलासा भएको हो ।
कागजात तथा हस्ताक्षर किर्ते गर्ने कर्मचारी ठाकुरलाई कारबाही गर्न वडा कार्यालयबाट २०७९ असार २० गते चलानी नम्बर १०४९ मार्फत नगरपालिकामा पत्र पठाएर सोही दिन कार्यालयमा बुझाइएको पाइएको छ ।













