बाबुराम मुडियारी
मोरङ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले आज (शुक्रवार) राजीनामा दिएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका छन् ।
माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज नै राजीनामा दिएको बताएका छन् ।
तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभामा १३ जना संसद रहेका छन् ।