अजितकुमार झा
इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ ।
सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, दुहवी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगंज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाँउपालिकामा रहेका पशुचौपायामा लम्पी स्किन रोगको प्रकोप देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख डाक्टर मनोज मेहताले जानकारी दिनुभयो ।
जिल्लामा अहिले सम्ममा १ हजार ५१६ वटा पशुचौपायामा संक्रमण रहेको उहाँले जानकारी दिनुभयो । सबै भन्दा बढी दुहबी नगरपालिकामा २७६ वटा पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेका छन् भने सबै भन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा संक्रमण रहेको उहाँले जानकारी दिनुभयो ।
संक्रमणका कारणले जिल्लामा अहिले सम्ममा ५३ वटा पशुचौपयाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख मेहताले बताउनुभयो । सबै भन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटा पशु चौपायाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
अहिले सम्ममा ६४ हजार ४४१ वटा पशुचौपयालाई खोप लगाएको उहाँले जानकारी दिनुभयो ।












