सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशका प्रभावशाली युवा नेता दिलिप साहले पार्टी परित्याग गरेका छन्।
उनले पार्टीको मधेश राष्ट्र समितिको मुख्यसचिवको जिम्मेवारीसहित साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
इनरुवा नगरपालिका निवासी साह २०७९ सालको स्थानीय तह निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर पदका प्रत्याशी थिए।
निर्वाचनमा उनले उल्लेख्य मत प्राप्त गरे पनि नेपाली कांग्रेस सुनसरी सभापति तथा हालका मेयर केदार भण्डारी र नेकपा एमालेका नेता सरोज पोखरेलसँग पराजित भएका थिए।
साहले इनरुवा अस्पताल सुधारका लागि संघर्ष समिति गठन गरी आन्दोलनको नेतृत्व गरेका थिए। साथै उनी सुनसरी सदरमुकाममा बलियो प्रतिपक्षका रूपमा खबरदारी र दबाब सिर्जना गर्ने भूमिकामा सक्रिय रहँदै आएका थिए।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका साहलाई स्थानीय तहमा प्रभावशाली युवा नेताका रूपमा चिनिँदै आएको छ।
पार्टी परित्यागको जानकारी दिदै साहले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गरेका छन्। उनले आफ्नो क्षमता, योग्यता र मेहनत हुँदाहुँदै पनि पार्टीभित्र लक्ष्य हासिल गर्ने अवस्था नरहेकाले यस्तो निर्णय लिनु परेको उल्लेख गरेका छन्।
स्टाटसमा उनले जसपा नेपालमा रहँदा आफूलाई साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै कृतज्ञता प्रकट गरेका छन्।
साथै आगामी राजनीतिक यात्रा जेन–जी युवाहरू तथा आम नेपाली जनताको चाहना र देशको आवश्यकताअनुसार अघि बढाउने बताएका छन्।
उनले स्टाटसको अन्त्यमा “जय देश, जय मधेश, जय नेपाल। सबैको जय होस्।” भन्ने सन्देश पनि दिएका छन्।
साहको पार्टी परित्यागसँगै जसपा नेपाल कोशी प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ भने अबको उनको राजनीतिक कदमलाई चासोका साथ हेरिएको छ। सभार : सुनसरी डायरी












