इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ को सहयोग र मानव अधिकार समूह भोक्राहा नरसिंह आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा बिहिबार शिक्षाको अधिकारका विषयमा सरोकारवालाहरूबीच पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको चिरौलीमा सम्पन्न भएको कार्यक्रममा सरोकारवालाहरुले विद्यार्थी अनुपातमा शिक्षक नहुदाँ पढाईमा समस्या भएको गुनासो गरेका छन् । गाउँपालिकामा रहेका विद्यालय तथा मदर्सामा शिक्षकको अभाव रहेकाले पढाईमा असर परेको शिक्षाका सरोकारवालाहरुले बताएका छन् ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तगरत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया, गोष्ठी सहितका कार्यक्रम गर्ने क्रममा शिक्षाको अधिकार विषयक कार्यक्रममा प्रधानाध्यापक रामु प्रसाद मेहताले विद्यालयमा समस्याहरु रहेकोमा सुनवाईका लागि गाउँपालिकामा पटक पटक आग्रह गर्दासमेत सुनवाई नभएको गुनासो गर्नुभयो ।
मेहताले आफनो विद्यालयमा मावि तहको शिक्षक अभाव रहेकाले पढाईमा असर परेको गुनासो गर्नुभयो । सम्पन्न भएको कार्यक्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश तिम्लिसनाले आफू शिक्षाप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ ।
वहाँले गाउँपालिकामा विद्यार्थीको अनुपातमा ७९ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ती गर्न सुधारको प्रयासमा रहेको बताउनुभयो । गाउँपालिकामा आफूले सबै सामुदायिक तथा मदर्सा सहितका शैक्षिक संस्थामा शैक्षिक गुणस्तरका लागि सरसफाई, खानेपानी भौतिक निर्माण, विद्यालय अनुगमन, खाजा कार्यक्रम, पाठ्यपुस्तक र छात्रबृति समयमा वितरण गर्दै आएको बताउनुभयो ।
शिक्षामा शैक्षिक सुधारका लागि आफनो पालिकाको श्रोत साधनले भ्याएसम्म राम्रो काम गरेको समेत वहाँले बताउनुभयो । कार्यक्रम मानव अधिकार समुहका सचिव दिपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जनता अधारभूत विद्यालयका प्रधानाध्यापक भोली प्रसाद यादवले विद्यालयमा भौतिक संरचना भएपनि मर्मत सम्भारको आवश्यकता रहेको बताउनुभयो । वहाँले कक्षा ६ देखी ८ सम्म पढाउने शिक्षकको समेत अभाव रहेको बताउनुभयो ।
त्यस्तै अर्का प्रधानाध्यापक बिन्देश्वरी साहले समेत मावि तहमा विषयगत शिक्षकको अभाव रहेको र अधारभूत तहमा संख्यात्मक शिक्षक भएपनि बिषयगत नभएकाले केही समस्या रहेको सुनाउनुभयो ।
त्यस्तै बानेश्वर अधारभूत विद्यालयका प्रधानाध्यापक रुप नारायण साहले समेत कक्षा ५ सम्म ६ जनाको शिक्षक आवश्यकता रहेकोमा चारजनाले मात्रै कक्षा धानिरहेको गुनासो गर्नुभयो । विद्यालयमा शिक्षक नहुदाँ पठनपाठनमा समस्या भएको गुनासो गर्नुभयो ।
उता कोशी गाउँपालिकामा समेत शिक्षक अभावले पढाई प्रभावित भएको छ । कोशीका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकामा विद्यार्थीको अनुपातमा १ सय ८७ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ती गर्न आफू लागि परेको बताउनुभयो ।
वहाँले गाउँपालिकाकै श्रोतबाट तलब खुवाउने गरी ३५ जना निजि श्रोतका शिक्षक राखेर शैक्षि सुधारको प्रयास गरेको बताउनुभयो । गाउँपालिकामा आफूले सबै सामुदायिक तथा मदर्सा सहितका शैक्षिक संस्थामा शैक्षिक गुणस्तरका लागि सरसफाई, खानेपानी भौतिक निर्माण, विद्यालय अनुगमन, खाजा कार्यक्रम, पाठ्यपुस्तक र छात्रबृति समयमा वितरण गर्दै आएको बताउनुभयो । शिक्षामा शैक्षिक सुधारका लागि आफनो पालिकाको श्रोत साधनले भ्याएसम्म राम्रो काम गरेको समेत वहाँले बताउनुभयो ।