हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको चपडाही अधारभूत विद्यालयको निमित्त प्रधानाध्यापकमा अरुण साह सोनारलाई जिम्मेवारी दिएको छ ।
विद्यालयको ब्यवस्थापन समिति, शिक्षक, शिक्षा शाखा हरिनगरका प्रतिनिधि, सञ्चारकर्मी, जनप्रतिनिधि र वडाका अगुवाहरुको भेलाबाट चपडाही अधारभूत विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी आइतबारबाट दिएको हो ।
सो विद्यालयको तत्कालीन प्रधानाध्यापक राजुप्रसाद गुप्तालाई बालकृष्ण मावि रामनगर भुटाहामा सरुवा गरेको र अरुण साह सोनारलाई आइतबारबाट जिम्मेवारी दिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गणु मुखियाले बताएका छन् ।
विद्यालयमा पठनपाठनभन्दा बढी तत्कालीन प्रअ गुप्ताले राजनीतिक अखडा बनाएको र शिक्षकहरुलाई पनि शिक्षण कार्यमा अवरोध गर्ने गरेको हुँदा उनलाई बालकृष्ण माविमा सरुवा गरेको शिक्षा शाखाका अजितकुमार मल्लिकले बताएका छन् ।
विद्यालयमा समय नदिने, बादविवाद गर्ने, आपसी समझदारी गर्ने, शिक्षकहरुसँग मेलमिलाप नगरी तनाव दिने, विद्यालय प्रशासनको काम इमान्दारपूर्वक नगर्नेलगायतका विभिन्न गुनासोहरु समुदायबाट आउन थालेपछि तत्कालीन प्रअ गुप्तालाई सरुवा गरेको शिक्षा शाखा हरिनगरले जनाएको छ ।
विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्नुको साटो पठनपाठनलाई प्रभावकारी नबनाएकाले बालबालिकाको भविष्य अन्धकारमय बन्न थालेपछि विद्यालय सुधार, गुणस्तर शिक्षा प्रदान र प्रभावकारी बनाउन प्रधानाध्यापक सोनारलाई जिम्मेवारी दिएको शिक्षा शाखा हरिनगरले जानकारी दिएका छन् ।
बालबालिकाको भविष्यसँग खेलवाड नगर्न आग्रह गर्दै शिक्षा शाखाका मल्लिकले राजनीतिक अखडा बनाई गुणस्तर शैक्षिक क्रियाकलाप गर्न र सुधारात्मक कार्य गर्नुपर्नेमा जोड दिएका थिए । भेलालाई सम्वोधन गर्दै मल्लिकले अधारभूत विद्यालयमा शिक्षक अभाव भएको खण्डमा आफूहरुले प्रयास गरी शिक्षक थप गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
भेलाले प्रधानाध्यापक अरुण साह सोनार र शिक्षक अशोककुमार साहलाई आइतबारबाट हाजिरी हुने गरी उपस्थिति गराएको छ । विद्यालयमा बालबालिकाहरुलाई पठनपाठनमा कुनै कसर नराखी बालमैत्री बनाई शिक्षण क्रियाकलापमार्फत् कार्य गर्न शिक्षकहरुलाई समुदायका अगुवाहरुले आग्रहसमेत गरेका थिए ।
प्रधानाध्यापक अरुण साह सोनारले समुदायको विद्यालय भएको हुँदा सबैसँग मिलेर आएको समस्यालाई समाधान गर्न तयार रहेको बताए । प्रअ सोनारले शिक्षकहरुलाई समयमा विद्यालय आउन निर्देशन दिँदै इमान्दार भएर पठनपाठन गराउनुपर्ने र राजनीतिक अखडा नबनाई सुन्दर र नमूना विद्यालय बनाउनुपर्ने बताए ।
भेलाले विद्यालयको प्रधानाध्यक अरुण साह सोनार र शिक्षक अशोककुमार साहको संयुक्त हस्ताक्षर चल्ने गरी कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने गरी प्रशासनको कामलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाउन आग्र्रहसमेत गरेका थिए ।