टोमराज मेहता
इनरुवा । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बदलिँदो परिस्थितिका कारण जनताले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र सुनसरीको क्षेत्र नम्बर ४ अन्तर्गत हरिनगर गाउँपालिका वडा नम्बर ४ र ५ का नेता तथा कार्यकर्ताहरुसँग मंगलबार प्रत्यक्ष भेटघाट गर्दै सांसद कार्कीले जनभावना बटुलेका हुन् ।
सांसद कार्कीले निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र गुनासो सुन्नका लागि हरिनगरका दुई वडामा प्राप्त गरेको जनभावनाअनुसार मुलुकमा अब कांग्रेस नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
सो क्षेत्रमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कार्कीले देशलाई समस्या पर्दा कांग्रेस जहिले अग्रगामी भूमिकाबाट नहटेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि देश र जनतालाई निकास दिन कांग्रेस लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।
सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रका जनताहरुको मतले आफू सांसद् भएको भन्दै समय–समयमा गुनासो सुन्न आउने गरेको र आएको गुनासो वा समस्यालाई सम्बोधन गर्न आफू लागिपरेकोसमेत बताए । आफ्नो दायित्व पूरा गर्न र भएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्नेसमेत सांसद कार्कीले बताए ।
सांसद भएको साढे तीन वर्ष बितिसकेको अवधिमा आफूले यस क्षेत्रको विकास गर्नका लागि १६ करोडभन्दा बढी बजेट बिनियोजन गरेको बताउँदै त्यसमध्ये हरिनगर गाउँपालिका विकासको नाममा धेरै अगाडि भएकाले सबै जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कांग्रेसको सरकार संघीय र प्रदेशमा नहुँदा विकासका योजनाहरु ल्याउन निकै समस्या भए पनि स्थानीय सरकारमा कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले विकासको पाटोमा निकै अगाडि बढेकोसमेत चर्चा गरेका थिए ।
नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाएर अगामी दिनमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै सांसद कार्कीले गाउँदेखि जिल्लासम्म संगठन बिस्तार गर्न सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश मुस्लिम संघका सभापति डाक्टर इसराईल मन्सुरी ,महासमिति सदस्य रमानन्द पंडित, सेनानी संघका सभापति नन्द सिग्देल, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, उपाध्यक्ष रिमझिमकुमारी भगत, हरिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति शिवहरि श्रेष्ठ, सचिव युवा नेता नईम अन्सारी सहभागि भएका थिए ।
त्यसैगरी कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष सुदिलाल मेहता, वडा सदस्य राजेशकुमार पाल, चञ्चल गिरी, कांग्रेस नेता कृष्णकुमार देव, भिखारी मण्डल, हरिनगर कार्यपालिका सदस्य सुशीलकुमार ठाकुर लगायतको सहभागिता रहेको थियो ।