इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई स्थानीय युवाले कारवाहीको माग गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–७ बस्ने रमेशकुमार यादवले आफू काम विशेषले भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा गएको बेला गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले आफूलाई विभिन्न गालीगलौज गर्दै दुव्र्यवहार गरेको बताएका छन् ।
आफूमाथि कुनै व्यक्तिगत रिसइबी नभए पनि काली मन्दिर निर्माणको विषयमा कुरा गर्न लाग्दा अध्यक्ष यादव जाइलागेको रमेशको भनाइ छ ।
काली मन्दिर निर्माण गर्नका लागि पहिले नै निर्माण समिति गठन भइसकेकोमा त्यसलाई गाउँपालिकाका अध्यक्ष यादव र वडा अध्यक्षको मिलोमतोमा विघटन गरी आफ्नो अनुकूलको र समाजमा नराम्रो छवि भएका व्यक्तिलाई निर्माण समितिको अध्यक्षमा राखेको विषयमा गाउँपालिका अध्यक्ष यादवसँग बुझ्न खोज्दा अध्यक्ष यादवले तथानाम गालीगलौज गर्नुुका साथै हातपातसमेत गरेको पीडित यादवको भनाइ छ ।
गाउँपालिका अध्यक्ष यादवले हातपात गरेको विषयमा पीडित रमेशले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरेका छन् । आफूमाथि हातपात गर्ने गाउँपालिकाका अध्यक्ष यादवलाई कडा कानुनी कारवाही गर्नुपर्ने रमेशले माग गरेका छन् ।
यता गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले रमेशकुमार यादव भन्ने व्यक्ति आफ्नो कार्यकक्षमा आए पनि आफूले उनीमाथि कुनै किसिमको दुव्र्यवहार नगरेको प्रतिक्रिया दिए ।
गाउँपालिका सबैको साझा थलो हो र अध्यक्ष पनि सबैका साझा प्रतिनिधि हुन् भन्दै अध्यक्षद्वारा पहिल्यै कुराकानी गर्ने तय भएको विषयमा आफैंले छलफल गर्न बोलाई कार्यकक्षमा जाँदा झुठा आरोप लगाई दुव्र्यवहारको घटनाप्रति घोर आपत्ति जनाउँदै त्यहाँका युवाहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नेसमेत तयारी गरिरहेको बुझिएको छ ।