टोमराज मेहता
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तिको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
सो अवसरमा आयोजित कार्यक्रमलाई विभिन्न वक्ताहरुलाई सम्बोधन गर्दै मुलुकमा राजसंस्थाको आवश्यकतालाई औंल्याएका थिए । कार्यक्रममा मन्तव्य दिँदै नेपाली सेनाका पूर्वमेजर जनरल डा. प्रेमसिंह बस्नेतले मुलुकमा राजसंस्थाको विकल्प नरहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बस्नेतले राष्ट्रिय एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनले निर्माण गरेको सिंगो देशलाई व्यवस्थितरुपमा चलाउनका लागि दलहरु पूर्णरुपमा असफल भएकाले अब राजसंस्थाको विकल्प नरहेको उल्लेख गरें ।
उनले देशको विकास र समृद्धिको नारा दिएका सरकार पूर्ण रुपमा भ्रष्टाचारमा लिप्त भएको र २०६२/०६३ को जनआन्दोलन तथा १० वर्षे जनयुद्धले जवरजस्ती राजसंस्था हटाएकाले अहिले देश गम्भीर संकटमा परेको भन्दै देशको निकासका लागि राजसंस्था नै आवश्यक रहेको दावीसमेत गरे ।
राजसंस्थाले सबै जनताको भावना र आवश्यकता बुझ्ने भएकाले राजसंस्थाकै लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर राजसंस्था पुनस्र्थापनाका लागि मार्ग प्रस्तुत गरेको टिप्पणी गरे ।
उनले जनता नरुचाएको धर्मनिरपेक्षता र राजसंस्थाको बहिर्गमन गर्नेहरुले जनतामाथि अर्को हुकुमी शैली लादेकाले अब राजसंस्थाबाहेकको विकल्प मुलुकमा नरहेको दावी गरे । उनले आफूहरु हिन्दु राष्ट्र र राजसंस्था स्थापना गरेर नै छाड्ने जिकिरसमेत गरे ।
कार्यक्रमका अध्यक्ष सिनेट श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारै भ्रष्टाचारमा लिप्त रहेकोले त्यसको विकल्पहरुमा जनता लागेको बताए । उनले पृथ्वीनारायण शाहले गरेको राष्ट्रिय एकतालाई कमजोर पार्न विभिन्न राजनीतिक दलहरु लागेको बताए ।
राष्ट्रिय एकताले मुलुकको पहिचान र गौरव बढेकाले अब नेपाली जनताले चाहेको नेपाल निर्माण हुन सक्ने बताए ।
उक्त कार्यक्रममा शालिग्राम कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने महिनारायण चौधरी, विनोद गिरी, अवधबिहारी साह, घनश्याम आचार्य, सन्तोष पोखरेल, किशोर कोइराला, पूर्व प्रअ सेमन्तराज बराल, रामविलास मेहता, प्राध्यापक श्रीनारायण पोखरेल, कौशलकिशोर कर्ण लगायतले राजसंस्था र हिन्दुराज्य स्थापना नभए देश दुर्घटनामा पर्ने तथा जनताले दुःख पाइरहने जिकिर गरेका थिए । कोणसभा सिनेट श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।