इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा सुरक्षित वैदेशिक रोजगारका सम्बन्धमा एक दिने जनप्रधिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका, सामी र हेल्भेटासको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका बारेमा जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए ।
सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीले इनरुवा नगरपालिका र भोक्राहा नरसिंहमा सामी परियोजना कार्यक्रम संचालन गरिरहेको बेला जनप्रतिनिधिहरुलाई पनि सामीको उद्धेश्य बारेमा स्पष्ट पार्दै सामीका जिल्ला अधिकृत देवनारायण चौधरीले वैदेशिक रोजगारका अवस्था र संविधानका उल्लेख भएको प्रावधान तथा स्थानीय संचालन ऐनमा उल्लेख भएका व्यवस्थाका बारेमा सहजीकरण गर्दै जानकारी गराएका थिए ।
वैदेशिक रोजगारसम्बन्धी कुनै समस्या भए जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी सूचना केन्द्रमा सम्र्पक गर्नका लागि जिल्ला अधिकृत चौधरीले अनुरोध गरेका छन् ।
चौधरीले पालिका र वडामा वैदेशिक रोजगारसम्बन्धी समस्या, गुनासो भएमा सामी परियोजनामा काम गर्ने कर्मचारी, संस्था तथा सूचना केन्द्रमा समर्पक गरेमा कानूनी परामर्शसहित वकालत निःशुल्कमा गर्नेसमेत बताए ।
कार्यक्रम संयोजक धीरज भट्टराईले सामी परियोजनाले निःशुल्क सूचना, न्याय र सीप प्रदान गर्दै आएकाले पालिकाभित्र पनि सचेतना जगाउँदै कुनै मुद्धाहरु आए आफूहरुले सहयोग गर्ने भएको हुँदा जनप्रतिनिधिहरुले पनि समाजलाई ठगीमुक्त र सीपयुक्त बनाउन सहयोग गर्नुपर्ने बताए ।
वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेकोले जनप्रतिनिधिहरुले पनि समाजमा भूमिका खेल्न आवश्यक रहेको बताउँदै उनले समाजमा त्यस्ताखालका मुद्धाहरुमा तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, वडाध्यक्षहरु आलम अन्सारी, सुकदेव यादव, राजेश्वरप्रसाद साह, रामचन्द्र यादव, हातिम अन्सारीले वैदेशिक रोजगारसम्बन्धी कुनै समस्या आएमा सूचना केन्द्र पठाउने र वेरोजगार युवाहरुलाई सीपमूलक तालिममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।