हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका–४ का कृष्णप्रसाद पौदारलाई मातृशोक परेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगर–४ का सभापति कृष्णप्रसाद पौदारलाई मातृशोक परेको हो ।
८७ वर्षीया सुधादेवी पौदारको मंगलबार दिउँसो पौदारको निवासमा मृत्यु भएपछि हिन्दु परम्पराअनुसार बुधबार अन्त्येष्टि गरिएको छ । कृष्णप्रसाद पौदारको दाजु तारकेश्वर पौदारले दागवत्ती दिएका छन् । कृष्णप्रसाद पौदार नेपाली कांग्रेस हरिनगरका पूर्व बुथ सभापति एवम् क्रियाशील सदस्यसमेत हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ का निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ भएकाले आउन नसके पनि फोन गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाली कांग्रेस सुनसरीका सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले पौदारको निवासमा पुगेर श्रद्धाञ्जली दिएका थिए ।
यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहता, १ नम्बर प्रदेश मुस्लिम संघका सभापति डा. इसराईल मन्सुरी, नेपाली कांग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ र सचिव नइम अन्सारीलगायत नेपाली कांग्रेसका नेताहरुले शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामनासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।