इनरुवा । नेपाल सरकारले कोरोनाविरुद्धको खोप लगाउने अभियान बुधवारबाट देशभरि लागू गरेपछि सुनसरी जिल्लाको चार स्थानमा पहिलो चरणको खोप लगाइएको छ ।
जिल्लाको चार स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्य क्षेत्रका झण्डै दुई सय ५० जनालाई कोरोनाविरुद्धको खोप बुधबार लगाइएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा एम्बुलेन्स चालक ४७ वर्षीय नारायण मण्डलले जिल्लामा कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । यसैगरी जिल्लाका धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय १५ बढीले खोप लगाएका छन् भने धरानकै विजयपुर अस्पतालमा ९० जना बढीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यसैगरी इटहरीमा १० जना बढी र इनरुवामा २० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य प्रमुख सागर प्रसाईले बताएका छन् ।
जिल्ला अस्तपताल इनरुवाबाट खोप लगाउने अभियानलाई सुरुवात गरेको थियो । सुनसरीमा तीन दिनसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले जानकारी दिए । प्रसाईका अनुसारमा सुनसरीमा १२ हजार डोज खोप प्राप्त भएको हो । पहिलो डोज लगाएको २८ दिनपछि पुनः दोश्रो चरणको डोज लगाउनुपर्ने उनले बताए ।
जिल्लामा पाँच हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय प्रमुख प्रसाईको भनाइ छ । पहिलो चरणमा बुधबार अढाई सयभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाउँदा कसैलाई पनि केही नभएकाले निर्धक्कसँग खोप लगाउन प्रसाईले आग्रहसमेत गरेका छन् ।