इनरुवा । बराहक्षेत्र नगरपालिका अन्तर्गत रहेको चक्रघट्टी जेसीजमा वर्ष २०२१ को अध्यक्ष पदमा तीर्थराज भट्टराई चयन भएका छन् । चक्रघट्टी जेसीजको सातौं पदस्थापना तथा पुरस्कार कार्यक्रममा वर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईले वर्ष २०२१ का अध्यक्ष भट्टराईलाई पद हस्तान्तरण गरेका छन् ।
वर्ष २०२१ को चक्रघट्टी जेसीजममा उपाध्यक्षहरु प्रविण बुढाथोकी, सुजन ढकाल, नोना ढुङ्गेल, मनोेज योञ्जन तामाङ रहेका छन् । कार्यकारी उपाध्यक्षहरुमा सञ्जय राउत र महेश घिमिरे रहेका छन् । अन्य बाँकी पदमा अध्यक्ष भट्टराईले पहिलो बैठकबाट विस्तार गर्ने बताइन्छ ।
चक्रघट्टी जेसीजको सातौं पदस्थापना तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसीजले नेतृत्व गर्न सिकाउने संस्था भएकाले युवाहरुको सहभागिता हुनुपर्ने बताएका छन् ।
नेता कोइरालाले आत्मविश्वासलाई बलियो बनाउने जेसीजमा युवाहरुको सहभागिता भएमात्र जेसीजको मूलमन्त्रको अवधारणा कायम हुनसक्ने बताए । जेसीज परिवर्तन गराउने ठूलो संस्था भएको हुँदा यसमा लागि नेतृत्व र व्यक्तित्व विकास गर्न आवश्यक रहेको बताए ।
त्यसैगरी नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक सुनोज निरौलाले जेसीजमा विधिको शासनलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्ने बताए । निरौलाले मुलुकभरमा १६१ वटा जेसीजको शाखा रहेकाले प्रायजसो जेसीज शाखाहरुमा लोभलालच र स्वार्थका कारण समानान्तर समिति खुल्ने क्रम जारी रहेकाले सो कार्य बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
एक वर्षको समय अवधि रहेको जेसीजमा विधिको शासन कायम हुनुपर्ने जोड दिँदै उनले आउने दिनमा समानान्तर समिति बनाई आपसी सम्झदारीमा एउटै समितिलाई मान्यता दिनुपर्ने उनले बताए ।
जेसीजमा कुनै समस्या आए समाधानका उपायहरु खोज्नुपर्ने र अग्रज व्यक्तिहरुसँग सल्लाह लिई अगाडि बढे सुनमा सुगन्ध हुने उनले जिकिर गरे । कार्यक्रममा मौसम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने चन्दन यादव, सुनोज निरौला, धिरज भट्टराई, संयम कोइराला, पुष्पा खरेललगायतको सहभागिता रहेको थियो ।