इनरुवा। नेपाल प्रेस युनियन इनरुवाका प्रमुख दावेदार टोमराज मेहताले आफू नेतृत्व सम्हालेपछि गर्ने विभिन्न कार्यहरुको १० बुँदे घोषणापत्र जारी गरेका छन् ।
नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिको अध्यक्ष भएपछि इनरुवाका पत्रकारहरुको हकहितका लागि काम गर्ने प्रतिवद्धतासहित आफ्नो फेसबुकमार्फत १० बुँदे घोषणा जारी गरेका हुन् ।
प्रतिक्षण दैनिक तथा सुनसरी अनलाइनका कार्यकारी सम्पादकसमेत रहेका मेहताले नेपाल प्रेस युनियन इनरुवा शाखाका अध्यक्षका दाबेदारी दिँदै आएका छन् । इनरुवा शाखालाई बिस्तार गर्ने क्रममा मेहता अध्यक्ष पदको मुख्य दाबेदार हुन् ।
मेहताले नेपाल प्रेस युनियन इनरुवा नगर अध्यक्ष भएपछि सदरमुकाम इनरुवामा कार्यरत रहेका क्रियाशील सबै पत्रकारहरुका लागि सञ्चार सामग्री तथा उपकरण प्रदान गरी व्यावसायिक पत्रकारिताको सन्देश प्रवाह गर्ने, इनरुवाका गरिब तथा पीडित पत्रकार दुई जनालाई दुई महिनाको तलब वितरण गर्ने, इनरुवालगायत आसपासका पत्रकारहरुलाई राहत उपलब्ध गराउने, रोजगार नपाएका पत्रकारहरुको तथ्याङ्क संकलन गरी रोजगारीको अवसर प्रदान गर्ने, इनरुवाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने, श्रमजीवी पत्रकार ऐनअनुसारको तलबका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरी सञ्चारमाध्यमका लागि समानुपतिक विज्ञापनका लागि पहल निरन्तर गर्ने, पत्रकारको पेशागत सुरक्षा र व्यावसायिक हितका लागि काम गर्ने र पत्रकारितामा स्वच्छता, निष्पक्षता र तटस्थताको नीतिलाई अम्लबन गरी पत्रकारितालाई समाजको ऐनाको रुपमा स्थापित गराउने प्रतिबद्धतासमेत घोषणापत्रमार्फत् व्यक्त गरेका छन् ।