इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट घुस्कीले तदारुकताका साथ भूमिका निर्वाह गर्दै आएको छ । भारतीय सीमासँग जोडिएको हरिगर गाउँपालिकास्थित घुस्कीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सुवेदीको नेतृत्व टिमले तस्करी नियन्त्रण गर्न पूर्णरुपमा आफ्नो बललाई प्रयोग गर्दै आएको जानकारी प्राप्त भएको छ ।
घुस्की बोर्डर आउट पोस्टले सोमबार ४५ थान भारतीय कुखुरा नष्ट गरेका छन् भने भारतीय मोटरसाईकल भन्सार कार्यालयमा बुझाएका छन् । सशस्त्र प्रहरी वोर्डर आउट पोस्टको आफ्नै कार्यालयमा विभिन्न मितिमा एक सय १३ वटा कुखुरा बरामद गरेर नष्ट गरेको हो ।
भारतीय कुखुराबाट बर्ड फलु हुन सक्ने भएकाले यसबाट हुने भारतीय कुखुरा तस्करीलाई न्यूनीकरणका लागि खटिरहेको सशस्त्र प्रहरी निरीक्षक सुवेदीले बताएका छन् ।
खुल्ला सीमा नाकाका कारण कुखुरा तस्करीलाई न्यूनीकरणका लागि आफू लागिपरेको बताए । सीमा क्षेत्रमा बसोवास गर्दै आएको जनताको सहयोग पाए आफूले तस्करीलाई न्यूनीकरण गर्न सफल हुनेसमेत उनले बताए । सीमाको रक्षा गर्ने दायित्वसमेत भएकाले आफूहरुले यस क्षेत्रको रक्षाको लागि दिनरात गरेर काम गरिरहेको सशस्त्र प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।
यस क्षेत्रमा खुल्ला सीमा नाकामा जनशक्ति परिचालन गरी हुने गरेको चोरी डकैतीलाई नियन्त्रण गरेको दावीसमेत उनले गरेका छन् । आफू यस क्षेत्रमा आएको ६ महिना बितिसक्दा जनताको हकहितमा काम गर्दै तस्करी न्यूनीकरणमा विशेष ध्यान दिएको उनले बताए ।
रातीको समयमा समेत टोली परिचालन गरेर काम गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक सुवेदीले बताए । जनप्रतिनिधि, स्थानीय र सञ्चारकर्मीहरुको रहोबरमा भारतीय कुखुरालाई खाल्डो खनेर नष्ट गरिएको थियो ।