इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिपचन्द साहु सहित चारजना आज रिहाई भएका छन् । इनरुवा अस्पताल सुधारका लागि आवाज उठाईरहेका संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार बिहिवार लोकतान्त्रिक चौकमा धर्ना कार्यक्रम स्थलबाट सुनसरी प्रहरीले पक्राउ गरेपछि आज उनीहरुलाई निसर्त रिहाई गरेका छन् ।
रिहाई हुनेहरुमा इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिपचन्द साहु, धर्मवीर आर्य, दिपेन्द्र साह र त्रिलोकनाथ गुप्ता रहेका छन् । रिहाई हुने बितिकै उनीहरुलाई संघर्ष समितिका पदाधिकारीहरु सहित नागरिक समाजले अविर लगाई खदा ओढाएर सम्मान स्वागत गरेका छन् ।
युवा नेता धर्मवीर आर्यले सत्य र न्यायका लागि लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अस्पताल सुधार अभियानको मुख्य एजेण्डा भएकाले सुधार नभएसम्म संघर्ष समितिको सक्रिय भूमिका रहने समेत उनले बताए ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिले केही महिना अघि २५ बुदें माग राख्दै अस्पताल प्रशासन, इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
२५ बुदें मागलाई कार्यान्वयन गर्नका लागि अस्पताल सुधार संघर्ष समितिले धर्ना कार्यक्रम गरेको बेला प्रहरीले आफूहरुलाई पक्राउ गरिएको संयोजक दिलिचन्द साहुले बताए । अस्पताल सुधार अभियानलाई निरन्तरता दिँदै अगाडि बढ्ने समेत उनले बताए । अस्पताल सुधार संघर्ष समितिले उठाएको २५ बुँदे मागलाई यथासिघ्र सम्वोधन हुनुपर्ने अडान राखी आन्दोलनलाई तिब्रता दिँदै अगाडि बढने समेत संघर्ष समितिका पदाधिकारीहरुले बताएका छन् ।
अस्पताल प्रशासनलाई बिभिन्न समयमा अल्टिमेटम दिएको र सोको सुनवाई नभएपछि आफूहरुले दवावमूलक कार्यक्रमबाट अघि बढिरहेको बेला आफूहरु माथि सुनसरी प्रशासनले दमन गरेको उनीहरुको भनाई छ ।
लामो समयदेखी इनरुवा अस्पतालमा बेथिति रहेकोले यसलाई अन्त्यका लागि गठन भएको अस्पताल सुधार संघर्ष समितिलाई कमजोर बनाउनका लागि प्रहरी परिचालन गरेर धर्ना कार्यक्रमबाट धरपक्कड गरि नियन्त्रणमा लिनु सरासर गलत भएको बुद्धिजिवीहरुको भनाई छ ।
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार, शान्तिपूर्ण भेलासभा गर्न पाउने नागरिकको मौलिक अधिकारको भएको शान्तिपूर्ण आन्दोलनबाट पक्राउ गर्नुले लोकतन्त्र माथि प्रहार भएको नागरिक समाजको ठहर छ ।