जापानमा शनिबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसीमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
स्थानीय अधिकारीका अनुसार मियागी र फुकुसीमा यस भूकम्पको कारण कम्तीमा १ सय जना घाइते भएका छन्।
शुरुमा यो भूकम्प ७ दशमलव १ म्याग्निच्युडको मापन गरिएको थियो भने पछि यो भूकम्प ७ दशमलव ३ को भएको जापान मौसम विभागले जनाएको छ। सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकालाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ।
केन्द्रविन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन्। शनिबार गएको सो भूकम्प सन् २०११ को ९ म्याग्निच्युडको भूकम्पको नै परकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताएका छन्। सन् २०११ को भूकम्पको अति शक्तिशाली भएकोले १० वर्षपछि यसको परकम्प देखिनु अचम्म कुरा नभएको सातकेले बताए।
सन् २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिएका थिए। कैयाैं बेपत्ता भएका थिए। त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५ दशमलव म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ।