इनरुवा । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी भएको बताएका छन् । बराहक्षेत्र नगरपालिका–६ को जनहित क्लबमा आयोजित भेलालाई सम्बोधन गर्दै कार्कीले बराहक्षेत्र नगरपालिकालाई स्मार्ट सिटी बन्ने पक्कापक्की भएको बताए ।
बराहक्षेत्र नगरपालिका ३० करोडको लागतमा स्मार्ट सिटी निर्माण हुने बताए । शहरी विकास मन्त्रालयबाट डिपिआर हुनेबित्तिकै स्मार्ट सिटीको परिकल्पना पूरा हुने उनले बताए । स्मार्ट सिटी बनाउनका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
शहरी विकास मन्त्रालय १ प्रदेश प्रमुख प्रदीपकुमार सिंहको टोलीले स्मार्ट सिटीको योजना र खाकाका बारेमा जानकारी दिएका थिए । पहिलो चरणमा डिपिआर गरी स्मार्ट सिटी योजनाअन्तर्गत बराहक्षेत्र नगरपालिकालाई स्मार्ट सिटी बन्ने तयारीमा जुटेको उनले बताए ।
मंगलबार शहरी विकास मन्त्रालयका प्रमुख सिंहले भेलालाई सम्बोधन गर्दै स्मार्ट सिटी योजनालाई गम्भीरताका साथ लिएको र कामलाई प्राथमिकता दिई छिटोभन्दा छिटो प्रक्रिया सुरु गर्ने बताए । जनताको गुनासोलाई मध्यनजर गर्दै विकासको नमुना कार्य गर्न लागेको बताए ।
स्मार्ट सिटीमा ढल निकाससहितको कालोपत्रे सडक १८ किमीको बनाउने लक्ष्य रहेको उनले बताए । नागरिक समाजको भेलाले यस क्षेत्रको विकासलाई स्मार्ट सिटीको योजनाले थप सहयोग पुग्ने उनीहरुले बताए ।
स्मार्ट सिटी बन्ने भएपछि बराहक्षेत्र नगरपालिकाका जनता उत्साहित भएका छन् । शहरी विकासबाट ३० करोडको बजेट विनियोजन भएको र प्राविधिक टोलीले यस क्षेत्रको अवलोकन गर्ने, डिजाइन गर्ने र डिपिआर तयार गरी कामको थालनी गर्ने प्रदेश प्रमुख सिंहले बताए ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बराहक्षेत्रका केही वडा भएकाले आफूले विकासको नयाँ योजनासहित स्मार्ट सिटीको परिकल्पनालाई पूरा गर्न लागेको कार्कीको भनाइ छ ।