इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका नागरिक अगुवाहरुको भेलाबाट तीन महिनाअघि गठन भएको इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले आफ्नो अर्को चरणको आन्दोलन घोषणा गरेको छ ।
समितिले अस्पतालदेखि प्रदेश सरकार हुँदै संघीय सरकारका स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाएको महिनौ बित्दासमेत कुनै सुनवाई नभएको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समितिका संयोजक दीलिपचन्द साहुुले आफूहरुको २५ बुँदे माग सरोकारवाला निकायले सुनवाइ नगरेपछि पुनः फागुन महिनाका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए ।
साहुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा दमन भएको र धरपकडसमेत भएकाले त्यसको बारेमा नागरिकलाई जानकारी दिने र ५० शैया अस्पतालको अनुभूति दिलाउन आन्दोलन कार्यक्रम घोेषणा गरेको जनाए । उनले आफूहरुको आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने र त्यसमा पनि जनहितमा कार्य गर्नेसहितको सांकेतिक विरोध गर्ने जनाए ।
साहुका अनुसार बिहीबार इनरुवा–२ को जिल्ला समन्वय समिति रोडदेखि बसचोकसम्म दिउँसो ३ बजे मैनबत्ती जुलुस प्रदर्शन गर्ने, शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा अस्पताल परिसरमा सरसफाइ र डस्टबिन वितरण गर्ने, फागुन १५ गते शनिबार सिटी जुलुस प्रदर्शन गर्ने र फागुन २२ गते सरोकारवालासँग बृहत अन्तक्र्रिया कार्यक्रम गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
यसैबीच समितिले इनरुवा–९ बबियामा वडास्तरीय समिति बिस्तार गरिएको छ । स्थानीय युवा डिएन यादवको संयोजकत्वमा २१ सदस्यीय वडास्तरीय समिति विस्तार गरिएको हो ।