इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु भएको छ । नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र बलाहाको संयोजन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा प्रदेशभरिका लोककलाका जानकार र स्रष्टाहरुको सहभागितामा कार्यशाला सुरु भएको हो ।
प्रदेश १ स्तरीय लोककला कार्यशालाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गर्दै सबै समुदायको आआफ्नो लोककला रहेको र मौलिक लोककलाहरु संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले लोककलाको संरक्षण र प्रचारप्रसारका लागि प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला आयोजना गरेको बताए ।
आइतबार सदरमुकाम इनरुवामा समुद्घाटन समारोहमा उनले लोककलाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने लोककला प्रशिक्षण, कार्यशाला गरेर प्रदेशभरिका स्रष्टाहरुलाई एक ठाउँमा ल्याउने काम भएको बताए । कार्यशाला कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले लोककला र साहित्यको विकासमा आफू लागिपरेको बताए ।
समाजलाई अगाडि बढाउनका लागि यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने भएकाले मैथिली, थारु, उराँव, भोजपुरीसहित विभिन्न भाषालाई अगाडि बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्राज्ञ जीवनाथ पोखरेलले स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको र यसपटकको कार्यक्रमले इनरुवालाई चिनाउन सहयोग गर्ने गरी ल्याएको बताए ।
लोककला कार्यशालाबाट सिकेर आफ्ना कलालाइ विश्वमा चिनाउन, उजागर गर्न र यसलाई अगाडि बढाउन योगदान गर्ने पोखरेलले बताए । कार्यक्रममा शारदा मावि बालाहाका प्रधानाध्यापक तिर्थराज भट्टराई, सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, भगवती माविका पूर्व प्रअ पुरुषोतम घिमिरे, बद्रीनारायण चौधरी, रमेश पोखरेल रामकृष्ण उराँव, वरिष्ठ कलाकार विक्रमश्रि, रामकृष्ण उराँव, प्रदीप चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा इनरुवा नगरपालिका सहयोगमा भएको प्रशिक्षणमा प्रदेश १ को सुनसरी, उदयपुर , मोरङ, झापा, धनकुटा सहितका १२ जिल्लाका दुई दर्जन बढी लोककला श्रष्टाहरुको सहभागीता हरेको थियो । कार्यशालाको उद्घाटन सत्र नवयुग बहुउदेश्य सामुदायिक सिकाई केन्द्रका अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।