इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका–६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एक कार्यक्रमका बीच आइतबार उद्घाटन गरिएको हो ।
हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले उद्घाटन गर्दै वडा नम्बर–६ को नयाँ भवनबाट सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्ने बताए । वडा कार्यालय भवनबाट सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्ने र सेवाग्राहीहरुलाई पनि सेवा लिनका लागि अनुरोध उनले गरेका थिए । पालिकाले विकाससँगै भवन निर्माण गर्ने कार्यलाई पनि महत्व दिएको उनले बताए ।
हरिनगर–६ को घुस्कीमा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह गर्ने कार्यलाई पनि प्राथमिकता दिएको अध्यक्ष अन्सारीले बताए । हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले नयाँ भवनबाट जनप्रतिनिधिहरुले समयमै सेवा प्रवाह गर्न आवश्यक रहेको बताए । सहमति, सहकार्य र एकताबाट सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उनले बताए ।
सबैको मर्म र भावनाअनुसार समयमै सेवाग्राहीहरुलाई सेवा दिनुपर्नेमा उनले जोड दिएका थिए । वडा कार्यालयबाट समयमा सेवा प्रवाह नभए वडावासीले खबरदारी गर्नुपर्ने अधिकृत खड्काको भनाइ छ ।
वडामा शान्ति र सुव्यवस्था कायम गर्न सबैसँग हातमा हात मिलाएर अगाडि बढ्नुपर्ने समेत उनले बताए । पालिकाको ७ वटा वडा रहेकोमा ६ र ७ नम्बर वटा एउटै ठाउँबाट सेवा दिँदै आएको पछि भाडामा संचालन रहेकोमा आइतबार नयाँ भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो ।
वडा कार्यालय आइतबार हरिनगरका अध्यक्ष गफार अन्सारी र उपाध्यक्ष रिमझिमकुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का र हरिनगर–६ का वडाध्यक्ष इसराइल अन्सारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।