धनकुटा । धनकुटाको चुलीवनमा अहिले भीषण डढेलो लागिरहेको छ ।
धनकुटा नगरपालिकाको वडा नं ७ चुलीवनमा दिउँसो देखि लागेको डढेलोले धनबहादुर पौडेलको घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने एउटा गोठ पनि जलेको छ ।
डढेलो चुलीवन र देउराली सामुदायिक वनमा लागिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । अहिले धनकुटामा बिजुली काटिएको छ। डढेलो लागेको स्थान हुँदै बिजुलीको तार गएकोले बिजुली काटिएको बताइएको छ ।
डढेलो बस्तीमा पस्ने उच्च जोखिम बढेकोले अहिले धरान, इटहरी लगायतका दमकल बोलाइएको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सँगै स्थानीयवासीले डढेलो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु देसारले जानकारी दिए ।
डढेलो लागेको ठाउँमा धनकुटाको दुई वटा दमकल सँगै धरानबाट गएको दमकल पनि पुगेको बताइएको छ । डढेलो दिउसो करिब १ बजे देखि लागेको प्रहरीले जनाएको छ ।
डढेलो अझै नियन्त्रणमा आइसकेको छैन भने के कति क्षति पुग्यो भन्ने बारेमा विवरण आई नसकेको प्रहरीले बताएको छ ।