विराटनगर / नोबेल अस्पतालमा भ्याकुम प्रयोग गरेर मृत निकालिएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले अस्पताल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सक डा.मधु साह र अस्पताल विरुद्ध प्रहरी र प्रशासनमा उजुरी समेत दिने भएका छन् ।
दुई दिन अगाडी अस्पतालमा भर्ना गरिएकी इटहरी–१ आँपगाछीकी सरिता प्रधानलाई सामान्य अवस्थामा भर्ना गरिएको हो । गर्भावस्थामा बारम्बार परीक्षण गराउँदै आएकी सरिता र उनको गर्भमा रहेको शिशुको अवस्था समेत सामान्य नै रहेको चिकित्सकको बताएका थिए ।
नोबेलकै प्रसुती विभागमा चैत २४ गते सरितालाई भर्ना गरिएको उनका श्रीमान् महेश प्रधानले जानकारी दिए । भोलिपल्ट साँझ ५ः३५ मिनेटमा बच्चा निकाल्न भ्याकुम प्रयोग गर्नुपर्ने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए ।
तर, आफन्तसहित गर्भवती आमाले भ्याकुम प्रयोग नगर्ने बरु शल्याक्रिया गरेर बच्चा निकाल्ने बताएका थिए । आमाको ईच्छा विपरित चिकित्सकको जर्बरजस्तीका कारण तीन पटकसम्म भ्याकुमबाट शिशुलाई तानिएको श्रीमान् मनिषको दावी छ ।
बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए ।
बिहीबार अस्पताल परिसरमा भेला भएका पीडित पक्षीय समूहले आमालाई अत्याधिक रक्तश्राव भईरहेका कारण उपचारमा ध्यान पु¥याउनुपर्ने, बच्चा निकाल्दै देखिएको चोटको उचित परीक्षण र कारण खोजिनुपर्ने जस्ता माग प्रशासनसँग राखेका छन् । श्रोत:सञ्चारपाटी