इनरुवा । सुनसरी बहुमुखी क्याम्पसका विदार्थीहरुलाई यातायातकर्मीले दुव्र्यवहार गरेको भन्दै पूर्व–पश्चिम सडक अथवा लोकमार्गमा शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा सुनसरी प्रहरीले विद्यार्थी नेता सेराज मियाँसहित पाँच जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर डेढ घण्टापछि निशर्त रिहाइ गरेको छ ।
यातायातकर्मीले दुव्र्यवहार गरेपछि सुनसरी बहुमुखी क्याम्पस सुनसरीका विद्यार्थी नेता सेराज मियाँको नेतृत्व टोलीले राजमार्गमा शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला सुनसरी प्रहरीले मियाँसहित पाँच जनालाई डेढ घण्टा नियन्त्रणमा लिएको थियो ।
नेपाल विद्यार्थी संघ सुनसरीको सदस्यसमेत रहेका मियाँलाई सुनसरी प्रहरीले नियन्त्रण लिएपछि नेपाल विद्यार्थी संघ सुनसरीका सभापति मन्दीप भट्टराईले निशर्त रिहाई गर्न प्रेस विज्ञप्ति जारी गरेका थिए । नेविसंघ सुनसरीका सभापति मन्दीप भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा यातायातकर्मीले विद्यार्थीहरुमाथि गरेको अभद्र व्यवहारप्रति र सुनसरी प्रहरीले मियाँलाई पक्राउ गरेको घटनाको घोर भत्र्सना गरेको छ ।
बिनाशर्त रिहाइ नगरे त्यसको सशक्त प्रतिकार गर्ने प्रेस विज्ञप्ति निकालिएपछि सुनसरी प्रहरीले डेढ घण्टापछि मियाँसहित उनीहरुलाई रिहाइ गरेको थियो । विद्यार्थी नेता मियाँसहित पाँच जनालाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको पहलमा सम्मानपूर्वक रिहाइ गरेको थियो ।
उनीहरुलाई ११ बजे सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यार्थी नेता, इनरुवा नगर प्रमुख मेहता, कोसीका प्रमुख अन्सारी र प्रहरीबीच भएको वार्तापछि उनीहरुलाई निशर्त सम्मानपूर्वक रिहाइ गरेको समाचार स्रोतले जनाएको छ ।
इनरुवा नगरपालिकाका नगर प्रमुख मेहताले विद्यार्थीहरुलाई अध्ययन, अध्यापन गर्न आवतजावत गर्न समस्या भएकाले इनरुवादेखि भण्टाबारीसम्मका लागि केही महिनाभित्रै बसको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।