इनरुवा । एक नाबालिकालाई धरानमा करणी गर्दा गर्दै पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई रकमको चलखेल गरी छुटाउने प्रयास तुहिदै उनलाई सुनसरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
बैशाख ८ गते धरानको डुकु होटलमा करणी गर्दा गर्दै सुनसरी प्रहरीद्धारा रंगेहात पक्राउ गरिएका अध्यक्ष यादवको सोमवार जिल्ला अदालत सुनसरीमा भएको थुनछेक सम्वन्धि वहसमा सुनसरी जिल्ला अदालतका न्यायाधिश टिकेन्द्र दाहालको एकल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
लामो समयसम्मको सुनसरी प्रहरीको अनुसन्धान पश्चात् सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरिएको मुद्दामा अदालतले त्यस्तो निर्णय दिँदै निजलाई पूर्पक्षमा राखी थप अनुसन्धान गर्न सम्वन्धित निकायलाई सुझाएको हो ।
यसबारे खबर श्रोतहरुका अनुसार अध्यक्ष यादवलाई छुटाउन इनरुवाका एक निर्माण व्यवसायी तथा नरसिंङ्ग कलेज सन्चालन गरेका व्यक्तिहरुको समुहले ठूलो रकम खर्च गरेर धरौटीमा रिहा गराउने तयारी गरेपनि त्यो सफल हुन सकेन् ।
सोमवार भएको थुनछेक वहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता नारायण प्रसाद रिमालले अभियुक्त विरुद्ध थुनछेकका निम्ति वहस गरेका थिए । उनका विपक्षमा प्रतिवादी यादवका पक्षमा पाँच जना कानुन व्यवसायीहरुले वहस गरेका थिए ।