हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ को हरिनगरा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हरिनगर उपशाखा र क्युआरसी हरिनगर गाउँपालिकाको आयोजना तथा शिवशान्ती पोलिक्लिनिक प्रा.लि हरिनगर–४ को सहयोगमा ३५ पिन्ट रगत संकलन गरेको छ ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ हरिनगरमा ३५ पिन्ट रगत संकलन गरेको हो । रक्तदान कार्यक्रममा ३४ जना पुरुष र १ जना महिला गरी ३५ जनाले रक्तदान गरेका हुन् ।
मुलुकभरी रगत अभावका कारण कैयौ व्यक्तिहरु समस्यामा परेका हुनाले नेपाल रेडक्रस सोसाइटी र क्युआरसी हरिनगरले वर्तमान अवस्थालाई मध्यनजर गर्दै ग्रामिण क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी हरिनगर उपशाखाका सभापति कृष्णप्रसाद देवले बताए ।
सुनसरीको दक्षिण ग्रामिण सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकाको ४ नम्बर वडाको हरिनगर बजारमा स्थानीय, समाजसेवी, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि,सशस्त्र प्रहरी र व्यापारी गरी ३५ जनाले रक्तदान गरेको क्युआरसीका स्वास्थ्य संयोजक जयप्रकाश मेहताले जानकारी दिए ।
रगतको अभावका कारण सुनसरी ग्रामिण क्षेत्रका सर्वसाधारणहरुको अकालमै मृत्यु हुन नदिनका लागि रक्तदान कार्यक्रमबाट रगत संकलन गरेको स्वास्थ्य संयोजक मेहताले बताए । हरिनगर गाउँपालिका लगायतको छिमेकी गाउँपालिकाका सर्वसाधारणहरुलाई समयमा रगत नभेटिएको खण्डमा आफूहरुले सहयोग गर्ने समेत उनले बताए ।
हरिनगर गाउँपालिकाका युवाहरुद्धारा गठन गरिएको क्युआरसीले सामाजिक क्षेत्रमा योगदान पुर्याउने, विपदको बेला सक्रिय भएर उद्धार तथा राहत उपलब्ध गराउने, समस्या परेका व्यक्तिहरुलाई समाधान तर्फ निकास दिन भूमिका खेल्ने, खबरदारी गर्ने र आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्ने कार्यमा सक्रिय सहभागिता देखाउने लगायतको गतिविधि गर्ने उद्धेश्य रहेको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले रक्तदान गर्नेहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।