हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा भूमिसुधार तथा मालपोत कार्यालय आउने भएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको पहलमा भूमिसुधार तथा मालपोत कार्यालय आउने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालयका लागि बिराटनगर महानगरपालिका–२ बस्ने झगेन्द्र प्रसाद लोहनीको छोरी स्वाती लोहनीले दुई कठ्ठा जग्गादान गरेकी हुन् ।
भूमिसुधार तथा मालपोत कार्यालय हरिनगर बनाउनका लागि स्वाती लोहनीले दुई कठ्ठा जग्गा पास गरिसकेकी छिन् । यसअघि झगेन्द प्रसाद लोहनीले हरिनगर गाउँपालिकाको कार्यालय बनाउनका लागि ४ कठ्ठा जग्गा पास गरिसकेका छन् । झगेन्द्र प्रसाद लोहनी उर्फ कुमोदले हरिनगर गाउँपालिकाको कार्यालय बनाउनका आफूले करोडौंको जग्गा निःशुल्क जग्गादान गरेको समेत बताएका थिए ।
सुनसरीको दक्षिण ग्रामिण सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकालाई सुन्दर बनाउन र जनतालाई सरल र सहज हुने गरी सेवा प्रदानका लागि जग्गादान गरेको उनले बताए ।
हरिनगर गाउँपालिकाको नाममा जग्गा पास भएको केही दिनमा उनको छोरी स्वाती लोहनीले ग्रामिण क्षेत्रको जनताको सेवा सुविधालाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय स्थापनाका लागि दुई कठ्ठा जग्गा निःशुल्क पास गरेकी बताईन् ।
सुनसरी सदरमुकाम इनरुवामा प्रायजसो सरकारी कार्यालयहरु स्थापना भएका छन् । इनरुवादेखी दक्षिणका जनताले सेवा सुविधा लिन इनरुवा नै आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जग्गादाताहरुले धमाधम जग्गादान गरेर हरिनगरलाई केन्द्रविन्दु बनाएर सरकारी कार्यालयहरुको स्थापनालाई जोड दिएका छन् ।
हरिनगरमा जिल्ला प्रशासन कार्यालय हरिनगर, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालय हरिनगर र हरिनगर गाउँपालिकाको कार्यालयबाट जनताले सेवा सुविधा पाइरहेका छन् । तथापी भूमिसुधार तथा मालपोत कार्यालय हरिनगर स्थापना भएपछि सदरमुकाम इनरुवा आउने झन्झट हटेर जाने स्थानीयबासीहरु बताउँछन् ।
हरिनगर गाउँपालिकाको कार्यालयको जग्गा र भूमिसुधार तथा मालपोत कार्यालय हरिनगरको जग्गा उपलब्ध गराउन नेपाली कांग्रेस हरिनगरको सभापति शिवहरी श्रेष्ठको योगदान रहेको छ । एक वर्षदेखी सभापति श्रेष्ठले जग्गाका लागि पहल गरेपछि कार्यालयको नाममा जग्गा पास भएको बताएका छन् ।
नेपाली कांग्रेस हरिनगरको सभापति श्रेष्ठले हरिनगरमै जग्गादातालाई भनसुन गरेर एक वर्षपछि जग्गापास गराउन सफल भएको बताए । धेरै मेहनत पछि हरिनगर गाउँपालिकाको कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयको जग्गाका लागि पहल पश्चात् जग्गा पास भएको उनको कथन छ । हरिनगरको मुहार फेर्न र जनतालाई सेवा सुविधा , छिटो छरितो सेवा प्रदान गर्नका लागि हरिनगर–४ मै जग्गा उपलब्ध गराएको सभापति श्रेष्ठको भनाई छ ।
हरिनगरलाई मुख्य बजारको रुपमा विकास गर्न सरकारी कार्यालयहरुको स्थापनालाई जोड दिदैं भूमिसुधार कार्यालय हरिनगर–४ को कार्यालय ल्याउनका लागि पहल गरिरहेकोले केही महिनापछि मापलोत कार्यालय आउने निश्चित भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् । उनका अनुसार हरिनगर गाउँपालिकाभित्रै विधुत कार्यालय ल्याउनका लागि प्रक्रिया सुरु समेत गरेको उनले बताए ।