काठमाडौं / जबरजस्ती करणीका एक आरोपी प्रहरीको गाडीबाटै फरार भएका छन् । काठमाडौंको न्युरोडबाट जबरजस्ती करणीका एक थुनुवा फरार भएका हुन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगञ्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसाे न्यूरोडबाट भागेका डिएसपी दिलबहादुर मल्लले जानकारी दिए । पीसीआर गराएर प्रहरीको गाडीमा फर्कंदै गर्दा उनी फरार भएका हुन् । अन्य थुनुवासहित परियारलाई जनसेवाको हिरासतमा लगिएको थियो । त्यसरी लैजाँदा उनलाई हतकडी समेत नलगाएको पाइएको छ ।
न्यूरोडमा सवारी जाम भएको मौकामा उनी भागेको मल्लले बताए । ‘यो घटनामा प्रहरीबाट कमी कमजोरी भएको पाइएको छ । परियारलाई किन हतकडी लगाइएन हामी अनुसन्धान गरिरहेका छौं ।’ थुनुवालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल वा म्याद थपका लागि अदालत लैजाँदा हत्कडी लगाउने गरिन्छ । तर, परियारलाई भने हत्कडी बिनै अस्पताल लगिएको थियो ।
श्रोत :saptakoshionline.com