एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ । लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन् ।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ । अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् ।
सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ । यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ ।