हरिनगर । इस्लाम धर्मावलम्वीहरुले शोक तथा दुःखको रुपमा मान्दै आएको यस महिनालाई अहिले मनोरंजनको रुपमा मनाउँन थाल्दा विकृति विसंगतिहरुले जरो गाडन थालेका छन् ।
इस्लाम धर्ममा अन्तिम पैगम्बर हजरत मो. मुस्तफाका नाति हजरत इमान हुसैनको शहादत भएको शोकको रुपमा यस महिना मनाउँदै आएकोमा अहिले आएर डिजे मार्फत संगितको भरमा नाच्दै रमाउँदै मनाउन थालेका छन् ।
पछिल्लो समय धार्मिक गुरुहरुले मुहर्रममा ढेर बनाएर मनाउने धर्म विपरित कार्यहरु गर्ने गरेकाले त्यसलाई रोक्न फतुवा (धार्मिक आदेशहरु) जारी गरिएता पनि केहि हद सम्म रोक लागेको थियो तर अहिले आएर आफना धर्म ,सँस्कृतिलाई नै चुनौति दिएर डिजेमा नाच्नु, गाउँ घरका महिला, बालबालिका समेत भिड जम्मा हुनु सरासर गलत भइ रहेको धर्म गुरुहरुले बताउँछन् । यसै सम्बन्धमा हेरा नेपाल का मौलाना शहाबुद्दिन इस्लाहिले मुहर्रमलाई शोकको रुपमा नमनाई इबादतको रुपमा जस्तो दान, रोजा(ब्रत) गरेर मनाउनु पर्ने बताए । ढेर बनाएर , मिठाई , फलफुल, खिर तथा चादर चढाउनु सरासर सिर्क हो । यसलाई रोक्न हामीले सबैको नैतिक कर्तव्य हो ,पहलहरु भई रहेको बताए । अहिले कोरोनाको महामारीको बेला पनि गाउँ बस्तीका मान्छेहरु जम्मा हुनु र त्यस तर्फ स्थानीय सुरक्षा कर्मीहरु समेत मुख दर्शक हुनु जनताको स्वास्थ्य प्रति खेलवाड भई रहेको देखिन्छ ।
इस्लाम धर्ममा मुस्लिम समुदायको लागि मुर्हरम महिना इबादत र उपासना गर्ने मनाउने महिना हो । यस महिनाको अति नै महत्व र विशेषता रहेको छ । इस्लामिक क्यालेण्डर अनुसार हिजरी संवतको पहिलो महिना हो । इस्लामीक महिनाहरु मध्ये महत्वपुर्ण ४ महिना मध्ये मुहर्रम पनि एक हो । इराकमा यजीद नामक जालिम बादशाहले जो इन्सानियतको दुश्मन थिए । हजरत मोहम्मद–ए–मुस्तफाको नाति हजरत इमान हुसैनको कर्बला नामक स्थानमा उनलाई जालिम बादशाह यजीदले हत्या गरी शहिद गरि दिए । त्यो दिन भनेको मुहर्रम महिनाको १० तारिख थियो । पछि गएर यो महिना नै इबादत र उपासनाको महिनामा परिणत भयो । तर अहिले यस महिना मुहर्रमलाई धार्मिक अज्ञानताका कारण मनोरंजनको रुपमा डिजे संगित बजाएर गाउँ घरका महिलाहरु समेत जमघट हुनु ठुलो विकृति फैल्न थालेकाले सरोकारवालाहरुले विशेष पहलकदमी लिनु पर्ने देखिन्छ ।