औरावनी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकर प्रसाद चौधरीको उपचारको क्रममा बुधवार निधन भएको छ । नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा निधन भएकोले गढी गाउँपालिका औराबनीले बिहिवार (आज) एक दिन शोक विदा दिएको छ ।
गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकर चौधरीलाई मुटुको समस्याबाट ग्रसित भएर एक हप्ता भन्दादेखी नावेल अस्पताल बिराटनगरमा उपचारार्थ थिए । वडाध्यक्ष चौधरीको बुधवार निधन भएको नोवेल अस्पतालले घोषणा गरेपछि उनको शव ल्याएर हिन्दु परम्परा अनुसार इटहरीको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।
नेकपा एमालेबाट टिकट पाएर स्थानीय तहको निर्वाचनमा गढी गाउँपालिका–१ का वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए । चार वर्ष वडाध्यक्ष पदको जिम्मेवारी इमान्दारीताका साथ निभाएपनि मुटु र सुगरको समस्याले गर्दा ५२ वर्षको उमेरमा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
जनताको भावना अनुसार विकास निर्माणको कार्य गर्दैै आएको र जनतालाई छिटो छरितो सेवा प्रदान गर्दै आएका वडाध्यक्ष चौधरीको असामायिक र अप्रत्याशित निधनले गढी गाउँपालिका सहित वडाबासीहरुले एक कुशल नेतृत्वकर्ता गुमाएकोप्रति चिन्ता व्यक्त गर्दै दिवांगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।
उनको आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै गढी गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, सरकारी तथा निजी विद्यालयहरु, बैंक, तथा संघसंस्था एक दिनका लागि बन्द गरी शोक मनाउनका गढी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । मृतक वडाध्यक्ष चौधरीलाई एक छोरा र एक छोरी रहेका छन् ।