इनरुवा । नेपाली कांग्रेसको १४ औं महाअधिवेशन नजिकिए जाँदा सुनसरीमा पनि अधिवेशनको रौनक बढ्न थालेको छ ।
नेपाली कांग्रेस सुनसरीको बुधवार बसेको बैठकले १४ औंं महाधिवेशन उत्साहपूर्ण ढङ्गबाट मनाउनुपर्ने निणर्य गरेको छ । कांग्रेको अधिवेशनलाई चाडपर्वको रुपमा एकताका साथ वडादेखी जिल्लासम्म समापन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको बैठकले भदौ २१ गते सोमवारका दिन १ सय २४ वटा वडामा अधिवेशन हुने निर्णय गर्दै बाकी अरु केन्द्रले तोकेको समयमै हुने निर्णय गरेको छ ।
नेपाली कांग्रेस सुनसरीका सभापति एव १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइरालाले बैठकमा १४ औं महाधिवेशनलाई सफल बनाउनका लागि एकजुट भएर अधिवेशनमा भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
बैठकलाई सम्वोधन गर्दै सुनसरी कांग्रेसका सभापति कोइरालाले कांग्रेसको ठूलो पर्वलाई हर्ष उल्लासका साथ मनाउन आग्रह गर्दै २१ गतेको वडा अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्नका लागि समेत अनुरोध गरेका थिए ।
नेपाली कांग्रेसको गढ भएको सुनसरीमा आपसी मनमुटाव अन्त्य गरेर एक अर्कालाई सहयोग गरेर नेतृत्वमा पुगाउनुपर्नेमा उनले जोड दिएका थिए ।
सभापति कोइरालाले कांग्रेसको नेतत्वलाई सुदृढिकरण गर्दै नेतृत्व गर्न सक्ने क्षमतावान व्यक्तिहरुलाई वडादेखी केन्द्रसम्म इमान्दार र लगनशिल व्यक्तिहरुलाई सहमतिबाट चयन गर्नुपर्ने बताए ।
महान चाडपर्वलाई खुशयाली मनाउँदै १४ औं महाधिवेशनलाई भब्यक्ताका साथ सफल पार्न सबैको जिम्मेवारी र दायित्व भएकोले विवाद नगरीकन सन्देश जानेगरी अधिवेशन सम्पन्न गराउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
नेपाली कांग्रेसको नगर अधिवेशन भदौं २७ गते आइतवार, प्रदेश सभाको असोज १ गते शुक्रवार, असोज ५ गते प्रतिनिधि सभाको अधिवेशन र असोज १० गते जिल्ला अधिवेशनलाई भब्य रुपमा समापन गर्न सबैलाई नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले अनुरोध गरेका छन् ।
कांग्रेसको १४ औं अधिवेशनलाई सुनसरीमा उत्साह, उमंग, समन्वय र सहकार्यबाट समापन गर्न सबैको जिम्मेवारी भएको हुदाँ अधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई सुनसरी कांग्रेसका सचिव केदार भण्डारीले जानकारी दिए ।
केन्द्रले सुनसरी जिल्लामा निर्वाचन अधिकृतका लागि उत्तम पौडेललाई जिम्मेवारी दिएको र १ सय २४ वडामा मतदान निर्वाचन अधिकृतहरुको नामावाली भदौं १९ गते नामावली प्रकाशन गरेर प्रत्येक वडामा मतदान अधिकृत पठाउने तयारी गरेको नेपाली कांग्रेसका युवा नेता बीरेन्द्र साहले जानकारी दिए । साहका अनुसार लगभग दुई हजार आठ सय प्रतिनिधिहरु निर्वाचित भएर आउनेछन् ।