डि.के. रेग्मी
इनरुवा । नेपाली कांग्रेस इनरुवा नगरका वर्तमान सचिव धिरज भट्टराईले सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको आसन्न १४ औ महाअधिबेसनमा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ मा संघिय क्षेत्रीय सचिब पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका इनरुवा नगर सचिव भट्टराईले आफनो फेसबुक मार्फत क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गर्दै वडा तहबाट निर्वाचित हुने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि एवं पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त समेत गरेका छन् ।
“पुराना पुस्तालाई सम्मानजनक निरन्तरता, नयाँ पुस्तालाइ क्षमता अनुसारको जिम्मेवारी, सहमति, सहकार्य र एकताको सूत्रबाट, फोहोरी राजनीति माथी खबरदारी” भन्ने मुल नाराका साथ सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ का संघीय क्षेत्रीय सचिव पदमा भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।
सुनसरी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघबाट २०६१ सालमा सभापति, नेबिसंघ सुनसरी जिल्ला सदस्य, नेपाली कांग्रेस अस्ट्रेलिया सम्पर्क समिती सचिब २०६६ सालमा र हाल नेपाली कांग्रेस इनरुवा नगर सचिब २०७३ देखि हाल सम्म नेतृत्व गर्दै आएका भट्टराई निडर साहसी र जुझारु युवा नेताका रुपमा चिनिन्छन् ।
२०६२÷६३ को जनआन्दोलनमा भट्टराई गिरफ्तार भई जेलनेल सम्म भोगेका संघर्षशील युवा नेता हुन् । नेपाली कांग्रेसको बिभिन्न गतिविधिमा सफलतापूर्वक भूमिका निर्वाह गर्दै आएका भट्टराई जोसिला कर्मठ योग्य युवा नेताका रुपमा पहिचान कायम गर्न सफल भएका छन् ।
भट्टराईले सुनसरी क्षेत्र नम्बर–४ मा सचिव पदमा उम्मेदवारी दिएकोले आफू इमान्दारीता पूर्वक कांग्रेसको संगठनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्ने भएको बताए । आफू सचिव पदमा अनुभव बटुलीसकेकोले क्षेत्रीय सचिव पदमा योग्य भएकोले सहमतिमा नै नेतृत्व चयन गरेर सबैलाई सहयोग गर्न समेत उनले अपिल गरेका छन् ।
भट्टराईले राजनीति सँगै सामाजिक सेवामा पनि उतिनै भूमिका निर्वाह गर्दै आएका छन् । बिभिन्न संघसंस्थामा आवद्ध भएर समाजमा जनचेतना फैलाउने कार्यमा पनि भट्टराई सक्रिय भएका युवा नेता हुन । काम गर्न फुर्तिलो, नयाँ सोच लिएर अगाडी बढेका, युवाहरुको ढुकढुकी, कांग्रेसप्रतिको वफदारीता लगायतका कुरामा कर्तब्यनिष्ठ, निष्ठावान युवा नेता भट्टराई सबैमा लोकप्रिय समेत छन् ।
उनले क्षेत्रिय सचिव पदमा आफूलाई सहयोग गरी हौसला प्रदान गर्न अनुरोध गर्दै सल्लाह सुझावको अपेक्षा गरेका छन् । सुनसरी क्षेत्र नम्बर–४ का वडा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुलाई भट्टराईले आग्रह गर्दै क्षेत्रीय सचिव पदमा एक पटक सेवा गर्ने मौका प्रदान गर्न र संगठन बिस्तारसँगै बलियो बनाउनका लागि जिम्मेवारी सुम्पिनका लागि सबैलाई अपिल गरेका छन् ।