नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले काठमाडौंमा बस्ने आफ्नो निजी घर समेत नभएको बताएका छन् ।
ललिता निवास प्रकरणमा मुछिएको झण्डै डेढ वर्षपछि सार्वजनिक कार्यक्रममा बुधबार पहिलो पटक उपस्थित भएका गच्छदारले काठमाडौंमा बस्न आफ्नो निजी निवास पनि नभएको बताएका हुन् ।
‘२०४८ सालदेखि म पटक-पटक देशको मन्त्री र उपप्रधानमन्त्री भएँ । मन्त्री भएको नेताको काठमाडौंमा बस्ने निजी निवास पनि छैन,’ पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘भाडाको घरमा बसिरहेको भन्ने सुन्दा तपाईंहरूलाई आश्चर्य पनि लाग्न सक्छ । तर, यथार्थ यही हो ।’
उपसभापति गच्छदारले मन्त्री र उपप्रधानमन्त्री पटक–पटक भए पनि आफूले कानुनले दिएको सुविधाबाहेक नियमविपरीत कुनै लाभ नलिएको दाबी गरे । उनले मन्त्रीको जिम्मेवारीमा हुँदा आफूले सधैँ आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेको पनि बताए ।
‘मैले मन्त्री पदको जिम्मेवारी पाउँदा सदैव आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेको थिएँ, त्यो पढ्न र बुझ्न सक्नुहुन्छ,’ उनले भने । उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर मुछिएको पनि दाबी गरे ।
‘सरकारको राजनीतिक दबाबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ममाथि पूर्वाग्रह राखेर मुद्दा चलाएको हो,’ उनले भने ।
श्रोत : शिलापत्र बाट