विनोद आचार्य
रामधुनी । आर्थिक वर्ष सुरु भएदेखि तलबभत्ता नपाएको भन्दै आन्दोलन गरिरहेका रामधुनी नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले आन्दोलन रोक्न आग्रह गरेका छन् ।
घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत नगरप्रमुख , उपप्रमुख, शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गर्न नगरपालिका पुगेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृत सरुवा भई गएको र नयाँ प्रमुख आउनासाथ तलब निकासा गरिने आश्वासन दिए ।
आन्दोलनरत प्रधानाध्यापक हरुसँग मेयरले छलफल गरी सकेसम्म चाँडै समस्याको समाधान गर्ने वचन दिएको वार्तामा सहभागी एक प्रधानाध्यापकले बताए ।
सोमबार तालाबन्दीको कार्यक्रम रहेको भएपनि शिक्षक संगठन र प्रधानाध्यापकले तालाबन्दी भने गरेनन् । केही प्राविधिक कारणले गर्दा रामधुनी नगरपालिकाको सम्पूर्ण आर्थिक प्रशासन ठप्प भएको पत्रकारहरुसँग मेयर चौधरीले स्वीकार गरे ।
दसैँअघि नै नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने शैक्षिक बिदामा बसेका कारण बजेट निकासा गर्न नसकिएको र आफूहरुसँग लेखा अधिकृतसमेत नभएका कारण खर्च चलाउन नपाउँदा नगरपालिकाको विकास निर्माण र अर्थसँग सम्बन्धित सम्पूर्ण प्रशासन ठप्प रहेको नगरप्रमुख चौधरीले बताए ।
नगरपालिकाले आर्थिक वर्षको सुरुबाटै गर्नुपर्ने केही आन्तरिक कामहरु गर्न नसकेका कारण रामधुनी नगरपालिकाका सम्पूर्ण आर्थिक कामहरु ठप्प छन् भने दैनिक प्रशासन चलाउन हम्मेहम्मे परेको छ । नगरपालिकाका कुनै पनि कर्मचारीको तलबभत्ता आर्थिक वर्षको सुरुबाटै निकासा भएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत बिदामा रहँदाका बखत कायममुकायम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नतोकिँदा आर्थिक गतिविधि ठप्प भएको उपमेयर सविना चौधरीले बताइन् ।