इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–८ स्थित रहेको श्री श्री १०८ श्री कार्तिक मन्दिर बंकुलवाको उद्घाटन भएसँगै कलशयात्रा सम्पन्न भएको छ ।
एक कार्यक्रमकाबीच मन्दिर उद्घाटनको अवसरमा कलश यात्रा समेत निकालिएको थियो । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र इनरुवा–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलद्वारा संयुक्त रुपमा मन्दिरको उद्घाटन गरिएको थियो ।
मन्दिर निर्माण कार्यसम्पन्न भएपछि इनरुवा–८ का वडाध्यक्ष मण्डलको बिशेष पहलमा उद्घाटन भएसँगै कलश यात्रा भब्य रुपमा सम्पन्न गरेको श्रवण कुमार मण्डलले जानकारी दिए ।
मन्दिरको नामा श्री श्री १०८ कार्तिक मन्दिर रहेकोले कार्तिक पुर्णिमाको अवसरमा आयोजित लोक नृत्य कार्यक्रममा आ–आफना प्रतिभा प्रस्फुटन गरेका थिए । समुदायमा जनचेतना फैलाउने उद्देश्यका गीत संगित समेत प्रस्तुत गरिएको थियो ।
इनरुवाका लोकप्रिय गायक तथा संगितकार प्रकाश अनुरागले मैथली,नेपाली लगायतको भाषामा आफैले गाएको गीतले मनोरञ्जन प्रदान गराएका थिए । मन्दिर निर्माणका लागि इनरुवा–८ का वडाबासीले समेत आर्थिक सहयोग गरेको हुनाले ५० जनाभन्दा बढीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
मन्दिर निर्माणका लागि स्व.हरिवंश ओझाको नाति स्व.हरिप्रसाद ओझाको ज्येष्ठ सुपुत्र पुनरावेदन अदालतका पुर्व मुख्य न्याधिश माधव प्रसाद ओझाले ५ कठ्ठा जग्गादान गरेको थियो । जग्गादान गरेवापत उनलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर इनरुवा नगर प्रमुख मेहता र इनरुवा–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलले सम्मान गरेका थिए ।
इनरुवाका नगर प्रमुख राजन मेहताले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको भन्दै यस वडाको ऐतिहासिक मन्दिर निर्माण भएको बताए । मन्दिर निर्माण कार्य सम्पन्न भएकोले कार्तिक पुर्णिमाको अवसरमा उद्घाटन गरिएकोले मठमन्दिरको रेखदेख गर्ने जिम्मेवारी वडाबासीको भएको बताउँदै उनले यस वडामा शिक्षा, स्वास्थ्य र सडकको विकास गर्न आफु पछि नपरेकोले अगामी दिनमा साथ सहयोगको समेत अपेक्षा गरेको बताए ।
केही महिना पछि स्थानिय तहको निर्वाचनमा फेरी एक पटक इनरुवालाई समृद्ध बनाउनका लागि जिम्मेवारी दिई नेतृत्वमा पुगाउन वडाबासीलाई अनुरोध समेत उनले गरे ।