टोमराज मेहता
काठमाडौं । यतिबेला काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण कांग्रेसमय भएको जोसुकैको ठम्याइ छ । प्रदर्शनीमाग सडक शुक्रबारदेखि नै कांग्रेसमय भएको देखिन्छ ।
आइतबार दिनभर मतदानस्थलको तयारी चलिरहँदा बाहिर उम्मेदवारहरुको पक्षमा नाराबाजी भइरह्यो । आइतबार मतदानको दिन भने दिनभर नै मतदातामा कौतुहलता देखियो– नयाँ नेतृत्व पहिलो चरणबाट चुनिएलान ?
कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन अरु उम्मेदवार भन्दा धेरै मत ल्याएर मात्र पुग्दैन, खसेको कुल मतको बहुमत ल्याउनुपर्छ । केन्द्रीय निर्वाचन समितिका अनुसार, यो पटक ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि अर्थात् मतदाता छन् । त्यसमध्ये खसेको मतको बहुमत ल्याएमात्र विजयी बनिन्छ ।
सभापतिका लागि प्रधानमन्त्री देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । अहिलेको अवस्थामा को बलियो भन्ने त्यसै अनुमान गर्न गाह्रो छ ।
मतदान स्थलमा भेटिएका कोही महाविेशन प्रतिनिधिहरु युवापुस्ता समेटेर शेखर कोइरालाले उम्मेदवारी दिएकाले पहिलो चरणबाट उनी नै चुनिने सम्भावना बढी रहेको बताउँछन भने कोही भने संस्थापन इतर टुक्रिएर उम्मेदवारी दिएकाले देउवा पहिलो चरणमा नै विजयी हुने बताउँछन् । कृष्ण प्रसाद सिटौलाले समेत देउवालाई सघाएका कारण उनी नै विजयी हुने केही मतदाताले बताइरहँदा केही भने विश्वप्रकाश देउवा समूहमा नअटाउनु नै उनका लागि घात हुने बताउँछन् ।
दोस्रो चरणमा शेखर बलियो दोस्रो चरणमा चुनाव हुँदा पहिलो र दोस्रो धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । मतदान स्थलमा भेटिएका कांग्रेस नेताहरुका अनुसार देउवा पहिलो र शेखर दोस्रो हुने सम्भावना देखिन्छ । अथार्त् दोस्रो चरणमा मतदान हुने अवस्था आयो भने शेरबहादुर र शेखरबीच मात्र प्रतिस्पर्धा हुन्छ । र, त्यो बेला बाँकी तीन जना उम्मेदवार विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले कसलाई समर्थन गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुनेछ ।
यता निधिले यसअघि नै देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताइसकेका छन भने प्रकाशमान सिंहको नेतृत्व परिवर्तनको मुद्दाले समेत देउवालाई सहज हुने छैन । तसर्थ यदि चुनाव दोस्रो चरणमा गयो भने नयाँ नेतृत्व आउने बढी सम्भावना देखिन्छ ।