अजय मण्डल
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर–६ स्थित रहेको राजगंज कृषि सहकारी संस्था लिमिटेडमा किसानहरुले तालावन्दी गरेका छन् ।
राजगंज कृषि सहकारी संस्थाका कर्मचारीहरुले किसानहरुलाई मलखाद उपलब्ध नगराएपछि किसानहरुले तालावन्दी गरेका हुन् । सहकारीले स्थानीय किसानलाई मलखाद नदिई अन्य पालिकहरुको किसानहरुलाई नेपाल सरकारले तोकिएको मूल्य भन्दा बढी रुपैयाँ लिएर मलखाद बिक्री वितरण गर्न थालेपछि स्थानीय किसानहरूले राजगंज कृषि सहकारी संस्थामा तालावन्दी गरेको किसानहरु बताउँछन् ।
स्थानीय विजय मेहताका अनुसार कृषि सहकारी संस्थाको सदस्य भए तापनि समयमा मलखाद उपलब्ध गराएको छैन् । बाहिरको किसानहरुलाई बढी रुपैयाँ लिएर मलखाद बिक्री गर्दै गरेकोले संस्थामा तालाबन्दी गरी किसानहरु आन्दोलित बनेका छौैं उनले भने । अर्का किसान मनिलाल खत्वेले संस्थामा मलखाद हुदाँ हुदै पनि उपलब्ध नगराएको गुनासो पोखे ।
एक दिन अघि मलखाद लिन आउँँदा संस्थाले नदिएको गुनासो पोख्दै संस्थाको सदस्य भएर पनि मलखाद नदिनु दुःखद कुरा भएको उनले बताए ।
उनले भने, ‘मेरो आँखा अगाडि नै अन्य व्यक्तीहरुलाई मलखाद मुल्य तोकेको भन्दा बढी रमक लिएर बिक्री वितरण गरेको छ । म गरीब किसान हुँ, मलाई मलखाद उपलब्ध नभएर खेतीपाती गर्न समस्या भएको छ । उक्त संस्थाको अध्यक्ष जयनाथ मेहताले मलखादको विषयमा कार्यसमितिको बैठक बसेर निर्णय गर्ने बताउँदै दोषी माथि कार्वाही गरिने बताए । कर्मचारीहरुले मुल्यभन्दा बढी रकम लिएर मलखाद बिक्री वितरण गरेको पाइएमा र पालिकाका किसान भन्दा अन्य पालिकाका किसानहरुलाई दिएको प्रमाण भेटाए कानुन अनुसारको कार्वाही गरिने उनले प्रतिक्रिया दिए ।