इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा आईतबारबाट राष्ट्रिय खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तरगत किसानको घरदैलोमा पुगेर पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप दिन सुरु गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आयोजना तथा हरिनगर गाउँपालिका पशु शाखाको सहकार्यमा आईतबारबाट पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप दिन सुरु गरेको हो ।
सुनसरीको सीमावर्ती क्षेत्रमा पशु चौपायामा लाग्ने खोरेत रोगको उच्च जोखिम रहेकाले त्यस विरुद्धको खोप दिन सुरु गरेको केन्द्रका प्रमुख डा. मनोज कुमार महतोले बताएका छन् ।
पशुमा लाग्ने खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले खोप अभियान सञ्चालन गरेको उनले बताए । आईतबार पशु सेवा हरिनगर शाखामा एक कार्यक्रमका बीच हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले खोप अभियानको उद्घाटन गरेका थिए । अंसारीले गाउँका किसानको पशुलाई खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामा प्रवेश गर्न नदिन गाईभैँसीमा खोप लगाउने अभियान सुरु गरेको बताए ।
सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी क्षेत्र हरिनगर र आसपासमा पर्ने गाउँपालिकाका गाईभैँसीमा खोप लगाउन थालिएको केन्द्रका चिनेश्वर मेहताले बताए । मेहताले सुनसरी जिल्लामा तीन लाख पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाउने अभियान हरिनगर गाउँपालिकाबाट सुरु गरेको बताए । गाईभैँसी, बाख्रा, बङ्गुरको खुरबाट एकआपसमा सर्ने रोगबाट ठूलो क्षति हुने भएकाले समयमै सजगता अपनाएको कार्यालयले जनाएको छ ।