हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आइतवारबाट शुरु भएको छ ।
हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आइतबार देखि हरिनगरा माविको खेलमैदानमा शुरु भएको हो ।
हरिनगर गाउँपालिका भरिका धार्मिक, संस्थागत र समूदायिक गरि ६१ वटा विद्यालय सहभागी रहेको छन् । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले देशलाई स्वच्छ प्रतिस्पर्धामा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई देखाउने अवसर समेत रहेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन ढुङ्गेलले संघिय संरचना अनुसार स्थानीय तह अन्तरगत रहेका विद्यालयहरुसँग समन्वय गरेर गरिएको प्रतियोगिताले पालिकाको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउदै खेलक्षेत्रको पुर्वाधार विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए । उनले स्थानीय तहमा खेलाडी उत्पादन गर्नका लागि यो प्रतियोगिताले मदत पुग्ने बताए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले राष्ट्रिपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरिएको हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिकले जानकारी दिए ।
प्रतियोगितामा दौड, भित्र–बाहिर, रिले दौड, म्युजिक चेयर,लजम्प, शर्टपुट, ज्याभलिन थ्रो, व्याडमिन्ट,हाई जम्प, ट्प्पिल जम्म,कबड्डी,भलिबल, लगायतका खेलमा प्रतिस्पर्धा हुने मल्लिकले बताए ।
प्रतियोगिता कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हरिनगरा उपशाखा तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला सदस्य कृष्णप्रसाद देव, नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का उपसभापति शिवहरि श्रेष्ठ, हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अजित कुमार मलिक, हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन ढुङ्गेल, उपाध्यक्ष रिमझिम कुमारी भगत, गाउँपालिका अध्यक्ष गफार अन्सारी, विद्यालयका शिक्षक, प्र.अ, प्रशिक्षक र सहभागी विद्यार्थीहरुको उपस्थित रहेको थियो । हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।