लौकही । सुनसरीको कोसी गाउँपालिका र भोक्रहा नरसिंह गाउँपालीकाको सिमाना स्थित रहेको लोैकहीको खुनिया पुल भन्ने स्थानमा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । शुक्रबार राति बस र ट्रक ठोक्किँदा आगलागी भएर ३ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले मृत्यु हुनेमा ना ५ ख २९९६ का चालक निजगढ बाराका २७ वर्षीय शेख फिरोज रहेको बताए । त्यस्तै ना ८ ख ८४९३ नम्बरको बसका चालक ४५ वर्षीय सरोज राई र बसका यात्रु भारत पश्चिम बंगालका २३ वर्षीय निहाल प्रधानको मृत्यु भएको हो ।
बसका चालक झापा गोलधाप निवासी भएको खुल्न आएको उनले बताए। तीनै जनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
सवारी दुर्घटनामा २७ जना घाइते भएका थिए । जसमा १७ जना उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार ९ जना घाइतेको विराटनगरस्थित न्यूरो अस्पताल र १ जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति ट्रक र बस ठोक्किएपछि ट्रकबाट आगलागी सुरु भएको थियो । त्यसपछि आगो दुवै सवारीमा लागेको थियो। उद्धार गर्ने क्रममा अन्यलाई निकाल्न सफल भए पनि प्रहरीले ट्रक र बसको अगाडि रहेका चालक र यात्रुलाई भने निकाल्न नसकेको प्रत्यक्षदर्शीले बताएका ।