इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ आदेश जारी गरेको छ । प्रशासनले सोमबार अर्को आदेश नआएसम्मको लागि १८ बुँदे नयाँ आदेश जारी गरेको हो ।
प्रशासनले भीडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रा लगायतका कार्यहरूमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । तर, कलेज र विद्यालय भने फागुन १ गतेदेखि खोल्न पाइने पनि आदेशमा उल्लेख छ ।
१२ वर्ष पूरा भएका विद्यार्थीहरूको हकमा नियमित कक्षा सञ्चालन हुनेछ भने १२ वर्ष नपुगेका विद्यार्थीहरूको हकमा स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापन समितिले आलोपालो वा सिफ्ट प्रणालीको व्यवस्थापन गर्नुपर्ने भएको छ ।
पार्टी प्यालेसमा एक पटकमा क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका १०० जना नबढ्ने गरी उपस्थित हुन पाउने आदेशमा उल्लेख छ ।
होटल, रेष्टुरेष्ट र क्यासिनो मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने फागुन १ गतेदेखि खेलकुद कार्यक्रम गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्णखोप लगाएका दर्शक उपस्थित गराउन सकिने आदेशमा उल्लेख छ ।