इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका –४ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
खातुन केयर फाउण्डेसन नेपालको आयोजना तथा अयान र अनमोल हेल्थ केयर प्रालिको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविरमा पाँच सय भन्दा बढी सर्वसाधारणहरुले सेवा पाएका थिए । उक्त शिविरमा काठमाडौँ तथा विराटनगरबाट आएका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिएको थियो ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता डाक्टर अबुल हुसेन अन्सारीले आप्mनो जन्मथलोमा एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले सेवा पाएको बताए । उनले भने, ‘मेरो आमाको बार्षिकी अवसरमा भोक्राहा नरसिंहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । सर्वसाधारणहरुलाई विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच गरी निःशुल्क औषधी समेत वितरण गरेको छु । स्वास्थ्य शिविरबाट सर्वसाधारणहरुले लाभ लिएको छ ।’
“स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो” भन्ने मुल नारका साथ भोक्राहा नरसिंह–४ को पृथ्वी माविमा निरोगी जीवन, स्वस्थ समाज र खुशीका आधार भन्दै एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविरमा सुगर, प्रेसर,मुटु, आँखा तथा किड्नी रोगको साथै स्त्री रोग, बच्चा विभाग, हाईजोर्नी, सर्जरी आदीको निःशुल्क परीक्षण गरिएको थियो ।
सो शिविरमा युरोपियन सर्टीफाइड मेडिकल ओंकोलोजिस्ट, क्यान्सर रोग विशेषज्ञ, पाटन अस्पतालका डा.अरुन शाही, महिला तथा प्रसुती रोग विशेषज्ञ डा.बिभुति शाही,पल्मोनरी मेडिसिन, छाती रोग विशेषज्ञ डा.राजेश किशोर यादव, मलाशय तथा मलद्वार रोग विशेषज्ञ डा. राकेश साह, बाल रोग विशेषज्ञ शिरिश शिलवाल, डा.मामुन रसिद, युरोलोजिस्ट बिशेषज्ञ डा. इमरान अन्सारीले सेवा प्रदान गरेका थिए ।