इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इनरुवा अस्पतालको स्तरउन्नति गर्नका लागि नेपाल सरकारको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने बताउनु भएको छ ।
सोमबार सुनसरी अनलाइनसँग भएको टेलिफोन वार्तामा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले इनरुवा अस्पताल स्तर उन्नतिका लागि नेपाल सरकारको तर्फबाट उल्लेखनीय आर्थिक सहयोग जुटाउन आफु लागिपरेको बताउनुभएको हो ।
संचारमन्त्री कार्कीले सोमवार टेलिफोनमा कुराकानी गर्दै इनरुवा अस्पतालमा अन्य सहयोग जुटाउन पनि आफु लागिपर्ने बताउनुभएको । ‘मेरो तर्फबाट पहल गर्दा यदि इनरुवा अस्पताल सुधारमा सहयोग पुग्छ भने त्यसबाट आफु पछि नहटने समेत कार्कीले टेलिफोन वार्तामा बताउनुभएको छ ।
इनरुवा अस्पताल व्यवस्थापन समितिले कार्ययोजना बनाइ पठाएमा आफुले त्यसमा समेत पहल गर्ने कार्कीले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवाको एकमात्र जिल्ला अस्पतालको रुपमा रहेको इनरुवा अस्पताल अहिले सुधारोन्मुख रहेको सुन्दा पनि आफुलाई खुसी लागेको र यसको स्तरउन्नतिका लागि पछि पनि सहयोग गर्न पछि नपर्ने कार्कीको कथन थियो ।
इनरुवा अस्पतालको बेथितिलाई अन्त्य गर्न आफुले समेत पहल गरेको र आगामी दिनमा समेत सहयोग गर्ने बताउँदै कार्कीले इनरुवा अस्पतालको मुहार फेर्नका लागि आफु तत्पर रहेको समेत बताउनु भयो । इनरुवा अस्पतालबाट रेफर मात्रै हुने गरेको समाचार सुन्दा आफुलाई दिक्क लागेको र अहिले रेफर होइन उपचार हुन्छ भन्ने सुन्दा आफु पनि सहयोग गर्न उत्सुक रहेको र चाडै नै सहयोग जुटाउन लागिपर्ने समेत कार्कीले बताउनुभयो । गरिब, अति विपन्न परिवार र निमुखा जनताले समयमै इनरुवा अस्पतालबाट सेवा पाउनेमा विश्वस्त हुन सबैमा उहाँले अनुरोध समेत गर्नुभएको छ ।
इनरुवा अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि नेपाल सरकारबाट हुने यो आर्थिक सहयोगले आम समुदायमा इनरुवा अस्पतालप्रतिको विश्वास बढाउने आफु ढुक्क रहेको समेत बताउनुभयो । इनरुवा अस्पताललाई चाहिने आवश्यक समाग्री लगायत अन्य सेवा सुविधाका बारेमा परामर्श र छलफल जारी रहेको समेत वहाँले टेलिफोन कुराकानीमा बताउनुभयो ।